पञ्चकन्या सामाजिक सुरक्षा भत्ता चोरी प्रकरण– चोर ‘ओपन सेक्रेट’ भए पनि प्रमाण छैन !



सीसीटीभीफुटेजबाट

नुवाकोट,भदौ ३१ । जिल्लाको पञ्चकन्या गाउँपालिका–२ को वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वापतको ५३ लाख रुपैयाँ भन्दा बढी चोरी भएको ५ महिना बितिसकेको छ। 

अनुसन्धानमा अब्बल मानिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) देखि बागमती प्रदेश प्रहरीको विशेष टोली र जिल्ला प्रहरी कार्यालय नुवाकोटको टोलीसम्म अनुसन्धानमा खटिए पनि अहिलेसम्म उक्त चोरी प्रकरणको यर्थाथ चित्र बाहिर आउन सकेको छैन। प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको बताए पनि सीसीटीभी फुटेजमा देखिएका ‘चोर’लाई समेत सार्वजनिक गर्न सकेको छैन। 

रकम चोरी भएपछि उक्त वडाका वडासचिव सरिता रावत, करारका सहायक वडासचिव रामकुमार गिरी र कार्यालय सहयोगी निलप्रसाद मिश्रलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो। उनीहरुविरुद्ध आपराधिक विश्वासघातको कसूरमा समेत मुद्दा चलेको थियो।  त्यति हुँदा समेत चोरी प्रकरण पत्ता लाग्न सकेन। 

उता सरकारी रकम व्यक्तिको नाममा जम्मा गरेको, भत्ता वितरण बैंकबाट गर्नुपर्ने भए पनि नगरेको, एक पटकमा १० लाखभन्दा बढी रकम बैंकबाट झिक्न नपाइने भए पनि प्रशासकीय अधिकृत आफैंले पटक–पटक नियम उल्लंघन गरेको, तत्काल घटनाको जानकारी नदिएको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासकीय अधिकृत नरेश पुडासैनीलाई निलम्बन गरेर छानबिन पनि गरेको थियो। 

यसबाट पनि केही नयाँ तथ्य सार्वजनिक हुन सकेन। अहिलेसम्म रहस्यमै रहेको उक्त चोरी प्रकरणका विभिन्न पाटाहरुबारे नेपाल लाइभले खोतल्ने प्रयास गरेको छ। 

कार्यालयमै राखिएको थियो रकम?
गत चैत २४ गते हिमालयन बैंकको त्रिशुली शाखाबाट सामाजिक सुरक्षा भत्ता बापतको ५० लाख रुपैयाँ निकाल्न वडाका सचिव सरिता रावत र करारका सहायक वडासचिव रामकुमार गिरी पुगेका थिए। गाउँपालिकाको सिफारिसमा रकम निकाल्न गएका उनीहरुले हिमालयन बैंकबाट ५० लाख रुपैयाँ निकालेका थिए। 

रकम निकालेपछि सहायक सचिव रामकुमार गिरीले कालो निलो झोलामा रकम राखेर झोला छातीमा भिरेको (पिठ्युमा नभइ अगाडिको भागमा) बैंकको सीसीटीभी फुटेजमा प्रष्ट देखिन्छ।

उनीहरुसँगै सामाजिक सुरक्षा भत्ता वापतको रकम निकाल्न वडा नम्बर ३ बाट वडा सहायक सचिव असलीमाया तामाङ पनि पुगेकी थिइन्। उनले पनि ३० लाख रुपैयाँ निकालेर ल्याएकी थिइन्। वडा कार्यालय फर्किने बेला बट्टार बजारमा आइपुगेपछि वडासचिव रावतले कालिका स्टेशनरीमा र स्टेशनरी सामान (पेपर, कैँची) किनेकी थिइन्। बट्टार बजारमा उनले तरकारी समेत किनेकी थिइन्।

त्यतिन्जेल सहायक गिरी रावतको नजरबाट हराएका थिए। साढे ४ बजे कार्यालय पुग्दा कार्यालय सहयोगी निलप्रसाद मिश्र कार्यालयमै थिए। कार्यालयमा रकम बोकिएको भनिएको झोला राखेपछि गिरीले ‘तपाईं पनि चाबी राख्नुस्’ भनेर वडासचिव रावतलाई दिए। अघिपछि कहिल्यै चाबी नदिए पनि त्यसदिन गिरीले रावतलाई चाबी दिनुले पनि शंका गर्ने ठाउँ भएको अनुसन्धान अधिकारी बताउँछन्।

रावत चाबी लिएर निस्किइन्। रावत कार्यालयबाट निस्किएपछि सहायक गिरी र कार्यालय सहयोगी केहीबेर वडामै बसेको सीसीटीभी फुटेजमा देखिन्छ। भोलिपल्ट रकम बितरण गर्न वडा कार्यालय पुग्दा रकम हुँदैन। 

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले सुनाए, ‘रकम बोकेको भनिएका मान्छे केही समय नजरबाट हराउनु र भोलिपल्ट रकम नहुनेले कार्यालयमा रकम राखिएको थियो/थिएन भन्ने शंका त हुन्छ, तर तीनै जना भएका बेला रकम राखिएको भनिएकाले रकम कार्यालयमै आइपुगेको भन्ने देखिन्छ।’

प्रहरीले यो पाटोबाट पनि अनुसन्धान गरेको थियो। तर, अहिलेसम्म यसको समेत निष्कर्ष निकाल्न सकेको छैन। 

चोर ‘ओपन सेक्रेट’, प्रमाण शून्य
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले उक्त रकम चोरी प्रकरणमा को संलग्न थिए भन्ने विषयमा एउटा निष्कर्ष समेत निकालेका थिए। ‘अहिले पनि प्रहरी अधिकारीसँग अनौपचारिक कुरा गर्दा ‘चोर को हो भन्ने तपाईं, हामी सबैलाई जानकारी नै छ। तर के गर्नु प्रमाण छैन’ भनेर भन्ने गरेको गाउँपालिका अध्यक्ष तामाङ बताउँछन्। 

अनुसन्धामा संलग्न एक उच्च अधिकारीले पनि चोरीमा संलग्न व्यक्तिको नजिक प्रहरी पुगेपनि प्रमाणका कारण मुद्दा अघि बढाउन नसकिएको बताए। पुरै नकाब लगाएर चोरी गरे पनि चोरको जीउडाल र संकास्पद व्यक्तिको जीउडाल मिल्ने, अन्य पाटोबाट अनुसन्धान गर्दा ती व्यक्ति नै चोरीमा संलग्न हुनसक्ने प्रहरीको दाबी छ। पक्राउ गरेर पोलिग्राफ परीक्षण गर्दा समेत झुटो बोलेको देखिएको, उक्त कार्यालयसँग परिचित भए जसरी चोरिएको देखिनु, रकम ल्याएर राखेको सबै विवरण थाहा हुनु जस्ता घटनाले संकास्पद ती व्यक्ति नै चोरीमा संलग्न हुने एक अनुसन्धान अधिकारीले नेपाल लाइभलाई सुनाए। उनी भन्छन्, ‘अहिले पनि हाम्रो संकामा ती व्यक्ति छन्। ती संकास्पद व्यक्तिको नुवाकोटस्थित घर खानतलासी गर्ने सम्मका काम भए पनि केही प्रमाण फेला नपरेकाले मुद्दा चलाउन नसकिएको हो।’

कम्युटर भएको कोठामा छिरेर मनिटर हटाएर प्यासेजमा राखेपछि मात्रै दराजमा भएको कोठामा मान्छे छिरेको भिडियोमा देखिन्छ। सचिवको दराजबाट पैसा झिकेको र हालेको देखिँदैन, तर झोला बोकेर भित्र भएको मान्छे उत्रै झोला बोकेर बाहिर निस्कन्छ। राति चोर्न गएको मान्छे आफ्नै कोठामा पसे जसरी निर्धक्क जुन–जुन ठाउँमा जानुपर्ने हो, नरोकिइ सरार ठाउँको पहिचान गरेर हिँडेको देखिन्छ। यस्ता विषयमा चोरीमा संलग्न हुनेसक्ने व्यक्तिको आकलन प्रहरीले गरे पनि प्रमाण नभएका कारण मुद्दा प्रक्रिया अघि बढाउन सकेको छैन। 

मूल मुद्दामा अझै प्रहरी अलमल 
प्रहरीले यस प्रकरणको एउटा अनुसन्धान टुंग्याएर मुद्दा अदालतमा पुगिसकेको भए पनि मुख्य अनुसन्धान भने हुन बाँकी नै छ। आपराधिक विश्वासघातको अनुसन्धान टुंग्याएर मुद्दा चलाए पनि चोरीको अनुसन्धानै अहिलेसम्म प्रहरीले टुंगोमा पुर्‍याउन सकेको छैन। 

चोरी गर्ने व्यक्तिविरुद्ध अहिलेसम्म चोरीको आरोपमा प्रहरीले अनुसन्धान टुंग्याएर मुद्दा नचलाउँदा सामाजिक सुरक्षा भत्ताका सेवाग्राही मारमा परेको सो गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ बताउँछन्। 

चोरी प्रकरणको अनुसन्धान भने जारी नै रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्कीले नेपाल लाइभलाई बताए। ‘मुख्य विषय नै कसले चोर्‍यो भन्ने हो। चोरीको अनुसन्धान भने अहिलेसम्म टुंगोमा पुगेको छैन हामी लागिरहेका छौं,’ एसपी कार्कीले नेपाल लाइभसँग भने।नेपाल लाइभबाट 

प्रतिक्रिया दिनुहोस्