८ वर्षपछि पुरानै ‘ब्रान्ड’मा गुण एयरलाइन्स



आजदेखि दुईओटा गन्तव्यमा उडान शुरू गर्दै

काठमाडौं,असोज १ । निजीक्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्स आफ्नै पुरानै ब्रान्डमा फर्किएको छ । रू. १ अर्बभन्दा बढीको लगानीसहित पाँचओटा जहाज थपेको गुण एयरलाइन्सले आज शुक्रवारदेखि औपचारिक रूपमा आफ्नै ब्रान्डबाट नियमित उडान शुरू गर्न लागेको छ ।

सन् २००९ मा स्थापना भएको गुण एयरलाइन्समा वित्तीय समस्या देखिएपछि सन् २०१३ मा निजीक्षेत्रकै सिम्रिक एयरलाइन्सले एक्वायर (अधिग्रहण) गरेको थियो । त्यसपछि ‘गुण’ ब्रान्ड हटेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बिके श्रेष्ठले गुणको ब्रान्डमात्रै प्रयोग नभएको बताए । ‘अहिले पुरानै ब्रान्डलाई पुनः प्रयोग गरेर कम्पनीले हवाई सेवालाई निरन्तरता दिन लागेको हो,’ श्रेष्ठले भने, ‘यसको शुरुआत आज शुक्रवारदेखि काठमाडौं–भरतपुर र काठमाडौं–पोखरा गरी दुईओटा गन्तव्यबाट गर्दै छौं ।’

सिम्रिक एयरबाट चारओटा जहाजले उडान गर्दै आएका थिए । त्यसमध्ये अहिले दुईओटा जहाज गुणकै नाममा आएको उनको भनाइ छ । तर, दुईओटा जहाज भने अर्काे अपरेटर कम्पनीलाई उपलब्ध गराएको श्रेष्ठले जानकारी दिए । यसैगरी उनले यति एयरलाइन्ससँग खरीद गरेका पाँचसहित सातओटा जहाजबाट हवाई सेवा पुनः गुण ब्रान्डबाट शुरू गर्न लागिएको जानकारी दिए । कम्पनीसँग अहिले जेटस्ट्रीमका ५ र बिचक्राप्mटका दुईओटा जहाज छन् ।

बिचक्राफ्टको सीट क्षमता १८ र जेट स्ट्रीमको सीट क्षमता २९ रहेको छ । यिनै जहाजबाट कम्पनीले उडान गर्नेछ ।

पाँचओटा जहाज किनेर पुरानै ब्रान्डमा फर्किएको गुण एयरलाइन्सले काठमाडौं बेस बनाएर दशैंअघि नै क्रमशः ट्रंक रूटमा सेवा विस्तार गर्ने योजना राखेको छ । गुण एयरलाइन्स व्यवसायी राजेन्द्र शाक्य अध्यक्ष रहेको गुण ग्रूपअन्तर्गत रहेर सञ्चालन हुनेछ ।आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्