पर्यटकलाई क्वारेन्टाइन राख्ने व्यवस्था हटाउन माग



काठमाडौं,असोज १ । पर्यटन क्षेत्रको उत्थानका लागि पर्यटकलाई क्वारेन्टाइनमा राख्ने लगायत व्यवस्था हटाउन पर्यटन व्यवसायीले माग राखेका छन् । पर्यटनसँग सम्बन्धित संस्थाहरूले कोभिडविरुद्धको खोप लगाएका पर्यटकलाई क्वारेन्टाइनमा नराखी अनअराइभल भिसाको व्यवस्था गर्नुपर्ने, नेपाललाई ‘रेड जोन’मा नराख्न पहल गर्नुपर्ने माग राखेका छन् ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले बिहीवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा व्यवसायीले उक्त माग राखेका हुन् । कोभिड–१९ महामारीको प्रभाव र सरकारको बेवास्ताले पर्यटन क्षेत्र अस्तव्यस्त भएको भन्दै नाट्टाले होटेल एसोसिएसन नेपाल (हान), ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपाल (टान), नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा)लगायत संस्थाका अध्यक्ष तथा उपाध्यक्षहरूको सहभागितामा आयोजना गरेको बैठकले विभिन्न पाँचओेटा निर्णय गरेको छ ।

बैठकमा व्यवसायीले पर्यटकलाई क्वारेन्टाइन नराखी ‘अनअराइभल भिसा’मा नेपाल आउन दिने व्यवस्था तत्काल मिलाउनुपर्ने, भारतसँगको सीमानाका तत्काल खोल्नुपर्ने, नेपाल सरकारले घोषणा गरेको पर्यटकलाई एक महीनाको फ्री भिसा तुरुन्तै लागू गर्नुपर्ने माग राखेका छन् । यस्तै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सट्टा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई जिल्लाको कोभिड–१९ परिस्थिति अनुसार स्वास्थ्य मापदण्ड पालना गर्न लगाउनुपर्ने माग गरिएको छ ।

सरकारले पर्यटन व्यवसायीका माग तत्काल सम्बोधन नगरे अर्को हप्तादेखि कडा रूपमा सडक आन्दोलनमा जाने निर्णय समेत बैठकले गरेको छ । यसैगरी पर्यटन लगायत अन्य क्षेत्रको माग सम्बोधनका लागि व्यवसायीहरूको छाता संस्था नेपाल राष्ट्रिय उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघसँग सहकार्य गरेर अगाडि बढ्ने बैठकले निर्णय गरेको छ ।

अन्तरराष्ट्रिय जगत्मा ट्राभल एड्भाइजरीमा नेपाललाई ‘रेड जोन’मा राखिएको छ । त्यसबाट हटाउन सरकारले पर्यटनकर्मीलाई कोभिडविरुद्धको खोप लगाइसकेको र खोप लगाइसकेका पर्यटकलाई नेपालमा निर्बाध आउन दिने जस्ता विषय प्रचारप्रसार गर्नुपर्ने व्यवसायीले औंल्याएका छन् । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्