सञ्चय कोषको लगानी सवा ४ खर्बमाथि



काठमाडौं,असोज १ । कर्मचारी सञ्चय कोषको कुल लगानी सवा ४ खर्ब नाघेको छ । कोषले सार्वजनिक गरेको वित्तीय विवरणमा गत आर्थिक वर्ष २०७७/७८ सम्ममा लगानी रू. ४ खर्ब ३६ अर्ब ५४ करोड पुगेको हो । कोषले विभिन्न आयोजना, परियोजना र संस्थामा ऋण तथा शेयर लगानी गरेको कुल स्रोत भने ४ खर्ब ४४ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । जगेडा कोष तथा बचतमा रू. ४० अर्ब १६ करोड रहेको र सञ्चयकर्ताको सञ्चय कोषमा ३ खर्ब ९८ अर्ब ६ करोड रुपैयाँ मौज्दात छ । यस्तै निवृत्तभरण कोषमा १ अर्ब ५८ करोड र दायित्व ४ अर्ब ६७ करोड रहेको सञ्चय कोषले बताएको छ ।

सञ्चय कोषले सञ्चित रकममा ६ दशमलव ५० प्रतिशत ब्याज दिँदै आएको छ । कोषले आर्थिक वर्ष २०७६/७७ को खुद मुनाफाबाट शुरू मौज्दातको आधारमा १ प्रतिशत मुनाफा प्रदान गर्ने घोषणा पनि गरेको छ । सञ्चयकर्ताले सञ्चय कोषबाट विशेष सापटी, घर सापटी, शैक्षिक ऋण, सरल कर्जा र घर मर्मत सापटी शीर्षकमा ऋण सुविधा पाउँदै आएका छन् । सञ्चयकर्ताले सञ्चयकोषमा रहेको रकमको ८० प्रतिशतसम्म विशेष सापटी लिन पाउँछन् । यसको कर्जा अवधि सेवाकालसम्म रहन्छ, जसको ब्याजदर ७ दशलव ६० प्रतिशत छ ।

सञ्चयकर्ताको पैसा उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छ : अर्थमन्त्री
कर्मचारी सञ्चय कोषले लगानीयोग्य परियोजनाहरू उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्नुपर्ने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । कोषको ६०औं वार्षिकोत्सव समारोहको भर्चुअल रूपमा उद्घाटन गर्दै मन्त्री शर्माले उत्पादन क्षेत्रमा गरिएको लगानीले रोजगारी सृजना गर्ने र व्यापार घाटा कम गर्न सहयोग पुग्नेछ । सञ्चयकर्ताको बोनस रकम समेत उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने व्यवस्था मिलाएर लाभको दायरा विस्तार गर्नुपर्नेमा शर्माले जोड दिएका छन् । कोषले संस्थागत सुशासनमा ध्यान दिनुपर्ने र कार्यप्रणालीलाई अझै प्रविधिमैत्री बनाई सञ्चयकर्ताका लागि सहज वातावरण सृजना गर्नुपर्ने मन्त्री शर्माको धारणा छ । कोषका निमित्त प्रशासक जितेन्द्र धितालले एकीकृत अवकाश कोषको माध्यमबाट कोषलाई सार्वजनिक क्षेत्रको उत्कृष्ट सामाजिक सुरक्षा प्रदायक संस्थाको रूपमा विकास गरिने बताए । उनले ६० वर्ष पुगेको अवसरमा आर्थिक अनुशासन, पारदर्शिता र उत्तरदायित्व अभिवृद्धि गर्दै कोषको आन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढ बनाइ संस्थागत सुशासन कायम गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्