एमएसएमई एवं स्टार्ट अप उद्यम : परियोजना मूल्यांकनको ६०% सम्म कर्जा दिन सुझाव



काठमाडौं,असोज ३ । नेपाल उद्योग वाणिज्य महासंघले साना मझौला उद्यम (एमएसएमई) एवं स्टार्ट अप कम्पनीलाई परियोजना मूल्यांकनको ६० प्रतिशतसम्म कर्जा उपलब्ध गराउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । महासंघका अध्यक्ष शेखर गोल्छासहितको टोलीले शुक्रवार गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर यस्तो सुझाव दिएको हो ।

महासंघले पहिलेदेखि परियोजनामा आधारित कर्जा प्रवाह गर्नुपर्ने धारणा राख्दै आएको थियो । त्यस क्रममा कोरोनाले थलिएको अर्थतन्त्रको पुनरुत्थानसँगै एमएसएमई र स्टार्ट अपको विस्तारका लागि काम गर्नुपर्ने आवश्यकताको आधारमा महासंघले सम्भाव्यता अध्ययन गरेको थियो । महासंघले उक्त अध्ययनको प्रतिवेदनमार्पmत राष्ट्र बैंकलाई यस्तो सुझाव दिएको हो ।

उक्त अध्ययन प्रतिवेदनमार्फत एमएसएमई एवं स्टार्ट अपलाई पूँजी उपलब्ध गराउन कुल लगानीको १० प्रतिशत परियोजना धितोमा कर्जा प्रवाह गरिनुपर्ने सुझाव दिइएको छ । यस्तै, परियोजनाको मूल्यांकनको ६० प्रतिशत कर्जा उपलब्ध गराउन सकिने सुुझाव पनि प्रतिवदेनमा उल्लेख छ ।

निश्चित सीमासम्मको कर्जाको प्रत्याभूति संयन्त्र र बीमा विस्तार गर्दै जोखिम न्यूनीकरण संयन्त्र लागू गर्न बैंकहरूको क्षमता विकास गर्नुपर्ने पनि प्रतिवेदनमा औंल्याइएको छ ।

परियोजना धितो कर्जालाई राष्ट्र बैंकले प्राथमिकतामा राखेर कार्यान्वयन गरोस् भन्ने सुझावसहित उक्त सम्भाव्यता अध्ययनको प्रतिवेदन राष्ट्र बैंकका गभर्नरसमक्ष पेश गरेको महासंघले बताएको छ ।

एमएसएमईहरूलाई परियोजना धितोको आधारमा कर्जा लगानी गर्दा वित्तीय संस्थाहरूलाई हुन सक्ने लगानी जोखिम न्यूनीकरण गर्ने सम्भावित संयन्त्रसहित केही महŒवपूर्ण सुझाव प्रतिवेदनमार्फत दिइएको महासंघले बताएको छ ।

यस्तै, बैंकलाई हुने जोखिम न्यूनीकरण तथा परियोजना व्यवस्थापनका लागि विकास साझेदारहरूबाट उपलब्ध कोष एकद्वार प्रणालीमार्फत परिचालन हुनुपर्ने बताइएको छ । साथै, कर्जा सुरक्षण निगममार्फत कर्जा बीमा सेवाको विस्तार गर्न सकिने सुुझाव पनि प्रतिवदेनमा उल्लेख छ ।

एमएसएमईलाई विनाधितो परियोजनामा आधारित कर्जा प्रवाह भएमा नवप्रवर्तन र उद्यमशीलता विकासमा यसले महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।

एमएसएमईले रोजगारी सृजनामा एवम् हाम्रो जस्ता देशमा सामाजिक द्वन्द्वको अन्त्य र आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्न महासंघको भनाइ छ ।

उक्त प्रतिवेदन हस्तान्तरण गर्दै महासंघका अध्यक्ष गोल्छाले प्रतिवेदनको प्राथमिकताका साथ कार्यान्वयनका लागि आग्रह गरे । प्रतिवदेनले औंल्याएको सुुझावहरूको कार्यान्वयनपश्चात् निकै ठूलो संख्यामा एमएसएमईहरू लाभान्वित हुने र त्यसबाट मुुलुुकको अर्थतन्त्रले समेत गति लिने उनको भनाइ थियो ।

यस्तै, गर्भनर अधिकारीले एमएसएमई एवं स्टार्ट अप उद्यम परियोजना धितो कर्जा प्रतिवेदन अध्ययन गरी प्राथमिकताका साथ कार्यान्वयनमा लैजाने प्रतिबद्धता गरे । साथै, अध्ययन प्रतिवेदनका लागि महासंघलाई धन्यवाद पनि दिए ।

अध्ययन प्रतिवेदन हस्तान्तरण कार्यक्रममा महासंघका उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ, रामचन्द्र संघई, कोषाध्यक्ष सुकुुन्तलाल हिराचन, निमित्त महानिर्देशक गोकर्ण अवस्थी सहभागी थिए । सम्भाव्यता अध्ययन अन्तरराष्ट्रिय श्रम संगठन, नेपाल कार्यालय र यूके एडको सहयोगमा गरिएको थियो । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्