संविधान दिवसको अवसर ९ सय ३ जना मानपदवीद्वारा विभूषित



काठमाडौं,असोज ३ । सरकारले संविधान दिवसको अवसर पारेर प्रदान गरिने विभिन्न मानपदवी र विभूषण ९ सय ३ जनालाई प्रदान गर्ने भएको छ । राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिने व्यक्तित्वलाई मानपदवीद्वारा विभूषित गरिएको हो । हरेक वर्ष संविधान दिवसका दिन ३ असोजमा विभूषण पाउनेहरूको नाम सार्वजनिक गरिँदै आएको छ । 

२९ भदौको मन्त्रिपरिषद बैठकको सिफारिस अनुसार  ९ सय ३ जनालाई मानपदवी, अलंकार र विभूषणबाट राष्ट्रपति विद्यादेवी भण्डारील सम्मान गर्नुभएको हो । जसमा सबैभन्दा ठूलो मानपदवीका रूपमा रहेको नेपालरत्न सन्त नेता तथा पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टरार्ईलाई प्रदान गरिनेछ ।

यसैगरी राष्ट्रगौरवका रूपमा रहेको पदवी यो वर्षको संविधान दिवसमा स्वर्गी सुवर्ण शमशेर जबरा र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई प्रदान गरिने भएको छ ।

अन्य ठूला पदक पाउनेमा स्व. मंगलादेवी सिह, मोहनचन्द्र अधिकारी र पोष्टबहादुर बोगटी रहेका छन् । यसैगरी, राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पुर्‍याएबापत द्वारिकादेवी ठकुरानी, भीमदत्त पन्त, भूविक्रम नेम्वाङ, रानुदेवी अधिकारी, भक्तराज आचार्य, सन्तोष शाहलाई उपल्लो स्तरको पदक प्रदान गर्न लागिएको छ ।

गायकहरू हेमन्त शर्मा, प्रकाश सपुत, नायिका केकी अधिकारी, नायक अनमोल केसी,पशुपतिमा लास जलाएर उल्लेख्य भूमिका निर्वाह गर्दै आइरहनु भएकी पपना रोका मगर, एसिड पीडित मुस्कान खातुन, तेजिया फौजा मगर, यौनिक अल्पसंख्यक अभियान्ता भूमिका श्रेष्ठ, पर्वतारोही कल्पना महर्जनलगायतलाई पनि महत्वपुर्ण विभूषण प्रदान गर्न लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्