ढुंगानालाई निलम्बन गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश



काठमाडौं,असोज ४ । धितोपत्र बोर्डको अध्यक्षबाट भीष्मराज ढुंगानालाई निलम्बन गर्नुको कारण देखाउन सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ ।

ढुंगानाले आफ्नो निलम्बनविरुद्घ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाउँदै भदौ २३ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उनको रिटको सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलाशले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो । ढुंगानाको रिटमा भदौ २७ गते पेशी तोकिएको थियो भने दोस्रो पेशी भदौ २९ गते तोकिएको थियो ।

सर्वोच्चले अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई बोलाएको छ । न्यायाधीश रेग्मीको एकल इजलाशले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई असोज ५ गतेभित्र बोर्डका अध्यक्ष ढुंगानालाई निलम्बन गर्नुको कारण पेश गर्न आदेश दिएको हो ।

बुक बिल्डिङ विधिबाट धितोपत्रको सार्वजनिक निष्कासन गर्ने प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको शेयर आप्mनी छोरी रेविका ढुंगानाले खरीद गरेको भेटिएपछि उनी विवादमा परेका थिए ।

यस विषयमा अध्ययन गर्न अर्थ मन्त्रालयले आन्तरिक रूपमा बनाएको छानविन समितिपछि गएको भदौ १६ गते बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई निलम्बन गर्दै छानविन गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरिसकेको छ । विज्ञ सदस्य प्रा. नारायणप्रसाद पौडेल, कानून आयोगका सहसचिव अर्जुनकुमार खड्का सदस्य छन् । बुक बिल्डिङ प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको १० हजार कित्ता शेयर ढुंगानाले आफ्नै छोरीका नाममा लिएको खुलेको थियो । अमेरिका बस्ने छोरी रेविका ढुंगानाका नाममा शेयर लिएको सार्वजनिक भएपछि अर्थ मन्त्रालयले संस्थागत रूपमा धितोपत्र बोर्डका नाममा स्पष्टीकरण सोधेको थियो ।

ढुंगानाले भने विवाह भइसकेको छोरीले खरीद गरेको शेयरको विषयलाई लिएर आफ्नो नाममा सरकारले छानविन समितिनै गठन गरी निलम्बन गर्नु जायज नभएको बताउँदै आएका छन् । सरकारले पदबाट निलम्बन गर्नु बदनीयत पूर्ण भएको भन्दै कानूनी उपचारको खोजीमा अदालत पुगेको उनको तर्क छ । व्यक्तिले शेयर लिएर प्रकरणमा संस्थागत स्पष्टीकरण सोधेको भन्दै अर्थमन्त्री जनार्दन शर्माको समेत आलोचना भएको थियो । यो आलोचनापछि मन्त्रालयले छानविन समिति बनाएर अनुसन्धान गरे पनि निष्कर्ष भने केही निकाल्न सकेन । यसबारे संसद्को अर्थसमितिमा समेत छलफल पछि छानविन गर्न सरकारलाई निर्देशन दिएको थियो ।

यही प्रकरणमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)का सीईओले राजीनामा दिएका थिए । तर, बोर्ड अध्यक्ष ढुंगानाले भने दिएका थिएनन् । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्