बैंकिङ कसूर मुद्दामा २ करोड जरिवाना तोकिएका व्यक्ति पक्राउ



काठमाडौं,असोज ५ । बैंकिङ कसूर मुद्दामा अदालतबाट दोषी ठहर भई दुई करोड रुपैयाँ जरिवाना र कैद सजाय तोकिएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ घर भई काठमाडौंको बुढानीलकण्ठ बस्ने ६७ वर्षीय कृष्णबहादुर थापालाई महानगरीय अपराध महाशाखाको टोलीले शनिवार पक्राउ गरेको हो ।

उनलाई जिल्ला प्रहरी कार्यालय पर्सा र बारासँगको समन्वयमा शनिवार अपरान्ह्र ५ बजे वीरगञ्जको पूर्णिमा चोकबाट पक्राउ गरी काठमाडौं ल्याइएको महाशाखाले जानकारी दिएको छ ।

रविन्द्र थापाले जाहेरी दिएको चेक बाउन्सको मुद्दामा उच्च अदालत पाटनले थापालाई गत मंसिर २२ गते एक करोड २५ लाख बिगो जरिवाना र १७ दिन कैद सजायको फैसला सुनाएको थियो । यस्तै रविन्द्रकै जाहेरीको अर्को मुद्दामा अदालतले थापालाई ७५ लाख बिगो जरिवाना र १३ दिन कैद सजाय तोकेको थियो ।

यसैगरी, सोही कसूरमा राजन श्रेष्ठको जाहेरीको अर्को मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसला बमोजिम प्रतिवादीबाट भरी पाउने १७ लाख रुपैयाँ र त्यसको कानून बमोजिम हुने ब्याज समेतको बिगो तिर्नुपर्नेमा सो नगरी फरार रहेकाले २०७५ असोज १९ गतेको फैसलाले थापालाई एक वर्ष कैद सजाय तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्