१० ओटा हिमाली जिल्लामा कोरोना विरुद्धको खोप अभियान शुरु



काठमाडौं,असोज ५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० ओटा हिमाली जिल्लामा १८ वर्षमाथिकालाई आज (सोमवार) देखि कोरोना भाइरस विरुद्धको खोप अभियान सञ्चालन गरिएको जानकारी दिएको छ । 

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले ती जिल्लाका १८ वर्षभन्दा माथिका सबैलाई आजदेखि यही असोज १४ गतेसम्म कोरोना भाइरस विरुद्धको पहिलो मात्राको खोप अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए । 

उनका अनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षभन्दा माथिका सबैलाई भेरोसेल खोपको पहिलो मात्रा लगाउन थालिएको हो । 

सरकारले शुक्रबारमात्र चीन सरकारबाट खरीद गरिएको ४४ लाख मात्रा भेरोसेल खोप ल्याएको थियो । यस्तै काभ्रे र चितवनमा पनि १८ वर्ष भन्दा माथि छुटेका विद्यार्थी र ३५ वर्षमाथिका सबैलाई खोप लगाउन थालिएको छ । 

उनले अभियानकै क्रममा काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाम जिल्लामा ४० वर्ष माथिका खोप लगाउन बाँकी र १८ वर्ष माथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप लगाइने छ । 

यस्तै, मनाङ, मुस्ताङ र पूर्वी रुकुम बाहेकका ५५ जिल्लामा ४५ वर्षमाथिका खोप  लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका  खोप लगाउन छूटेका विद्यार्थीलाई पनि अभियानकै क्रममा खोप लगाइने उनले बताए । पहिलो मात्रा खोप लगाइसकेका लागि कात्तिक ४ देखि कात्तिक १४ गतेसम्म भेरोसेलको दोस्रो मात्राको खोप प्रदान गरिने छ । 

आजैदेखि यसअघि पहिलो मात्रा लगाएका नागरिकलाई दोस्रो मात्राको खोप अभियान पनि सञ्चालन गरिएको छ । दोस्रो मात्रा आजदेखि असोज ६ गतेसम्म काठमाडौं जिल्लामा सञ्चालन भइरहेको छ । 

मन्त्रालयले खोप लगाउनका लागि आफ्नो परिचय खुल्ने परिचय पत्र लिएर जान समेत अनुरोध गरेको छ । अहिलेसम्म नेपालमा पहिलो मात्रा ६२ लाख तीन हजार ३१६ जनाले र पूर्णमात्रा ५५ लाख ७८ हजार ८६५ जनाले लगाइसकेका छन् । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्