आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष प्रारम्भ



काठमाडौं,असोज ५ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु हुँदैछ । पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । सक्नेले यस पक्षका सोह्रै तिथिमा श्राद्ध गर्नुपर्छ ।

नसक्नेले पञ्चमीदेखि औँशीसम्म, यति पनि नसक्नेले पिताका तिथिमा श्राद्ध गर्नुपर्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

तिथिका दिन रोकिएपछि गरिने श्राद्ध नन्दा तिथि अर्थात् प्रतिपदा, षष्ठी र एकादशीमा पार्न नहुने पनि उनले बताए । सूर्य वृश्चिक राशिमा जानुअघिसम्म दिवङ्गत पितृ पितृलोकबाट मत्र्यलोकमा झरेर पिण्डदानको आशाले सन्तानको घर वरपर घुमेर बस्छन् भन्ने शास्त्रीय वचन छ । यस समयमा श्राद्ध नगरे पितृले सराप्दै फेरि पितृलोकमा फर्कन्छन् । यो समयमा श्राद्ध नगरे दोष (प्रत्यवाय) लाग्छ । आश्विन कृष्ण पक्षलाई महालय, अपर, पितृ र प्रेत पक्ष पनि भनिन्छ ।

प्रतिक्रिया दिनुहोस्