प्रचण्ड र कांग्रेसको डिजाईनमा माधब नेपाल एमालेबाट अलगिए : पौडेल



पाल्पा,असोज ६ । नेकपा एमालेका उप महासचिव विष्णु पौडेलले एमालेबाट चोइटिएर गएको माधव नेपाल समूह केही महिना भित्रै माओवादी पार्टीसंग विलय हुने गृहकार्यमा रहेको आरोप लगाउनुभएको छ। नेकपा एमाले पाल्पाले तानसेनमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै पौडेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल( प्रचण्ड) र नेपाली काङ्ग्रेसको डिजाइनमा माधव नेपाल एमालेबाट अलग भएको समेत बताउनु भयो ।

उपमहासचिव पैडेलले अहिलेको नेकपा एमाले विरुद्धको पाँच दलिय गठवन्धनका आधारहरु भत्किदै गएकोले अव धेरै दिन नटिक्ने ठोकुवा गर्नुभयो। माधव नेपाल समुहलाई नेकपा एमालेले राजनितिक शक्तिको रुपमा कदापि स्विकार्न नसक्ने उल्लेख गर्नुभयो । नेपालको कानुन अनुसार कुनै पनि पार्टी र संसदीय दलमा ४० प्रतिशत कायम हुनुपर्ने नियम भएपनि कानुन विपरित २० प्रतिशतको अध्यादेशको भरमा माधव समुहलाई राजनितिक दलको रुपमा स्विकार्य गर्न नसकिने नेता पौडेलले प्रष्ट पार्नुभयो।

माधव नेपालको समुह विदेशी शक्तिको कृपाबाट प्रचलित कानुन विपरित बनाईदिएको अवैधानिक झुण्ड भएको उपमहासचिव पौडेलको आरोप छ । तानसेन नगरपालिका सभा हलमा एमाले अगुवा कार्यकर्ताहरुको भेलालाई एमाले केन्द्रिय सदस्यहरु दल बहादुर राना, ठाकुर गैरे, दधिराम न्यौपाने, लुम्विनी प्रदेश कमिटी सदस्य यादव बहादुर रायमाझी,झपेन्द बहादुर जिसी, लेखा आयोग सदस्य धनेन्द्रराज घिमिरे, तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाही, जिल्ला समन्वय समितीकी कार्यवाहक प्रमुख मिरा मरासिनी लगायतका नेताहरुले सम्वोधन गर्नुभएको थियो।

जिल्ला अध्यक्ष नारायण प्रसाद आचार्यको सभापतित्वमा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष मोहन थापा र संचालन सचिव ओम बहादुर घर्तिमगरले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्