विराटनगर महानगरमा बन्न सकेनन् आकाशे पुल



विराटनगर,असोज ७ । ट्राफिक चाप वृद्धि हुनु र मुख्य राजमार्ग दुई लेनबाट ६ लेनको विस्तार हुँदा विराटनगरका विभिन्न चोकहरूमा दुर्घटना बढेपछि विराटनगर महानगरपालिकाले आकाशे पुल बनाउने निधो गर्‍यो । डीपीआर तयार भएर ठेक्का पनि लाग्यो । तर पहिले आकाशे पुल चाहिन्छ भनेर महानगरलाई दबाब दिनेहरू नै अहिले पुल बन्न नदिने प्रयासमा लागेका छन् ।

‘पहिले आकाशे पुल बनाइदेऊ भन्दै डेलिगेसन आउँथे, अहिले मेरो घर अगाडि बनाउन पाइँदैन भन्दै अवरोध गरिरहेका छन्,’ महानगर प्रमुख भीम पराजुलीले भने ।

महानगरवासीको चौतर्फी दबाब बढेपछि महानगरले आकाशे पुलको आवश्यकता अध्ययन ग¥यो । अध्ययनले कम्तीमा चार ठाउँमा आकाशे पुल जरुरी रहेको निष्कर्ष निकाल्यो । त्यसैका आधारमा महानगरपालिकाले आवश्यक स्रोतको व्यवस्थापन गरेर आकाशे पुल बनाउने योजना अगाडि बढायो । अहिले कञ्चनबारी, बरगाछी, घाँसचोक र बसपार्क क्षेत्रमा आकाशे पुल बनाउने अन्तिम तयारी गरिरहेको बेला स्थानीयले अवरोध गर्न थालेका छन् ।

आकाशे पुल बनाउन ठेकेदार कम्पनीले बसपार्क दक्षिण पाञ्चाली मोड नजिकै काम शुरू गर्‍यो । तर, जग्गाधनी नागेश कोइरालाले काममा अवरोध गरे । उनले आवश्यकता नै नभएको ठाउँमा आकाशे पुल बनाउन जरुरी छैन भन्दै काम अगाडि बढाउन दिएका छैनन् । विकल्पमा उनले बसपार्क क्षेत्रमै आकाशे पुल बने उपयोगी हुने सुझाव दिएका छन् ।

आकाशे पुल चाहियो भनेर सबैभन्दा धेरै माग भएमध्येको कञ्चनबारी चोकमा पनि महानगरले काम अगाडि बढाउन सकेन । आकाशे पुलको ‘ड्रइङ डिजाइन’ चोकको दक्षिणमा बनाउने गरी तयार भएको थियो । राजमार्ग पूर्व र पश्चिम दुवैतर्फका घरधनीहरूले पुल निर्माण गर्न नदिने भएपछि चोकबाट उत्तरतर्फ सारियो । तर, त्यहाँ पनि आकाशे पुल बन्ने छाँट छैन । प्रदेशसभा सदस्य चुमनारायण तवदारले महानगरमा लिखितै उजुरी दिएर आकाशे पुलको विकल्प खोज्न वा त्यहाँबाट अन्यत्र सार्न माग गरेका छन् । दक्षिणतर्फ बनाउँदा महानगर–४ का वडाध्यक्ष देवेन्द्रराज पोखरेलको घर छेकिने भएकोले पहिल्यै सारिएको थियो । उत्तरमा सांसद चुमनारायण तबदारको घर परेपछि कञ्चनबारी चोकमा बन्ने भनिएको आकाशे पुलको योजना अघि नबढ्ने आशंका गर्न थालिएको छ ।

बरगाछीमा पनि स्थानीय गणेश थापाले आफ्नो घर अगाडि आकाशे पुल नबनाउन दबाब दिँदै आएका छन् । उनले पनि दायाँबायाँ सारेर पुल बनाउन आग्रह गर्दै आफ्नो घर अगाडि भने बनाउन नमिल्ने भन्दै काम गर्न नदिने चेतावनी दिइरहेका छन् । सबैतिरबाट अवरोध भएपछि महानगर योजना कार्यान्वयन गर्न नसक्ने अवस्थामा पुगेको छ ।

विराटनगर महानगरपालिकाले बनाउन खोजेकामध्ये घाँसचोकमा आकाशे पुलको सबैभन्दा धेरै आवश्यकता देखिएको छ । बजार क्षेत्र भएको र पूर्व हाटखोलादेखि पश्चिम सरोचिया, जनपथ, ब्रह्मपुरादेखि सुनसरीसम्मबाट ठूलो संख्यामा मानिस आवतजावत गर्ने केन्द्र भएकाले त्यस ठाउँमा बन्ने आकाशे पुल उपयोगी हुने सरोकारवालाहरूले बताएका छन् । त्यस्तै कञ्चनबारी र बरगाछीमा पनि आकाशे पुल जरुरी छ । ती दुवै ठाउँमा स्थानीयले अवरोध गरेको भन्दै महानगरपालिकाले गत बिहीवारदेखि सरोकारवालाहरूसँग छलफल आरम्भ गरेको छ । बिहीवार विराटनगरबाट प्रकाशित पत्रिकाका सम्पादक र नेपाल पत्रकार महासंघका पदाधिकारीहरूसँग महानगरले छलफल गरी आकाशे पुल निर्माणमा देखिएको समस्याबारे जानकारी गराउँदै सहजीकरणको अपेक्षा पनि गर्‍यो ।

प्रदेशसभा सांसद तवदारले आफू विकासको विरोधी नभएको बताए । ‘जुन ठाउँमा बन्नुपर्ने हो, त्यो ठाउँमा नबनेर अन्तै बनाउन लागिएकाले त्यसो नगर्न भनेर मैले भनेको हुँ,’ उनले भने । अहिले आकाशे पुल बनाउने तयारी गरेको ठाउँबाट पूर्वतर्फ जाने दुईओटा साना बाटाहरूमा अवरोध हुने भएकाले सार्न आग्रह गरेको उनले बताए । चोकलाई आधार मानेर आकाशे पुल बनाउँदा सहज हुने उनको भनाइ छ ।

विराटनगर–४ का वडाध्यक्ष देवेन्द्रराज पोखरेलले आकाशे पुल बनाउन आफूले अवरोध नगरेको बताए । ‘मेरै अगाडिबाट बनाए पनि हुन्छ, पहिले पनि मेरो कारणले नभएर छिमेकीहरूका कारणले सरेको हो, यस विषयमा छलफल गरेर निष्कर्षमा पुग्ने सहमति छ,’ उनले भने । उता, पाञ्चाली मोड नजिक बन्न लागेको आकाशे पुल भने कम उपयोगी हुने सरोकारवालाहरूको ठहर छ । काममा अवरोध गरेको आरोप खेपेका नेपाली कांग्रेस मोरङका सचिव नागेश कोइरालाले भने, ‘आकाशे पुल कस्तो ठाउँमा बनाइन्छ ? भीडभाड हुने ठाउँमा नबनाएर नागेश कोइरालाको खाली जग्गामै लगेर बनाउनुको अर्थ के हो ? जबरजस्ती विकास विरोधी देखाउन यस्तो गरिएको अनुभूति भएको छ ।’

प्रदेश सरकारसमेतको सहयोगमा घाँसचोकमा लिफ्ट, शौचालय, सूचना केन्द्रसहितको आकाशे पुल बनाउने विराटनगर महानगरपालिकाको योजना छ । बाँकी पुलहरूमध्ये दुईओटामा दुवै तर्फबाट चढ्न मिल्ने र एउटामा भने एकातर्फबाट चढ्न मिल्नेगरी बनाउन लागिएको इन्जिनीयर डा. राजन सुवालले जानकारी दिए । चारओटा आकाशे पुल निर्माणका लागि महानगरले करीब ८ करोड रुपैयाँ खर्च गर्दै छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्