धरानमा स्मार्ट बसपार्कको निर्माण कार्य शुरु, करीब ३० करोड खर्च लाग्ने अनुमान



धरान,असोज ७ । विगत दुई दशकदेखि विवादित बनेको धरानको स्मार्ट बसपार्कको निर्माण कार्य शुरु भएको छ । स्थानीयले दिएको जग्गामा तीनकुने सुन्दर बस्ती विकास आयोजनामार्फत स्मार्ट बसपार्क निर्माण योजना शुरु भए पछि बसपार्क बन्नेमा सर्वसाधारण ढुक्क भएका छन् । 

धरानको गौरवको आयोजना भएकोले यसलाई चाडै पूरा गर्ने सुन्दरबस्ती निर्माण आयोजनाले जानकारी दिएको छ । आयोजनाका प्रमुख खगेन्द्र खतिवडाले आयोजनाको काम शुरु भइसकेको बताए । 

उनले भने, ‘यो आयोजना धरानको गौरवको आयोजना हो, यसलाई चाडै सम्पन्न गर्ने प्रमुख दायित्व हो, हामी सम्पन्न गर्न लागि परेका छौं ।’ 

उनका अनुसार आयोजना अन्तर्गतको बसपार्क प्रवेश मार्ग सहितको सडक सञ्जालमा रहने ड्रेन निर्माणको कार्य शुरु भएको छ । आयोजनाले साइड क्लियर गर्ने काम शुरु गरेको छ । उनले भने, ‘हामी साइट क्लियर गर्ने काम गर्दैछौै, क्लियर भएपछि ड्रेनको काम हुन्छ ।’

डिपिआर बनिसकेपछि बसपार्क निर्माणले गति लिएको हो । डिपिआर अनुसार स्मार्ट बसपार्क बेसमेन्ट (अण्डरग्राउण्ड पार्किङ) सहितको ३ तलाको हुनेछ । डिजाइन अनुसार सबैभन्दा पहिलो बेसमेन्टमा २०० ओटा सानो गाडी (सुमो, हायस, कार लगायत) र १५० ओटा मोटरसाइकल अट्ने क्षमताको हुनेछ ।

यसैगरी, सतहमा ४९ ओटा बस र १५ ओटा सानो गाडी राख्ने ठाउँ समेत हुनेछ । उपमहानगरपालिकाका अनुसार सतहबाट गन्तव्यमा छुट्ने गाडीहरु मात्र राखिनेछ भने त्यहाँ १२ ओटा विभिन्न रुटमा जाने गाडीको पार्किङ संरचना निर्माण हुने डिजाइन रहेको छ । 

डिजाइनमा तेस्रो तला टर्निमल भवन यात्रुहरुको प्रयोगमा आउनेछ भने क्याफे, लाइब्रेरी र व्यपारिक कोठाहरु हुनेछन् । स्मार्ट बसपार्कको सतहमा कुना तथा केही खाली स्थानमा फुलबारी (बगैचा) पनि निर्माण गर्ने उपमहानगरपालिकाको योजना छ । पार्क निर्माण सम्पन्न गर्न २५ देखि ३० करोड लाग्ने अनुमान गरिएको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्