कांग्रेस महाधिवेशनः २१ जिल्लामा १८ असोजमा अधिवेशन, नाम सार्वजनिक



काठमाडौं, असोज १२ । नेपाली कांग्रेसले १८ असोजमा २१ जिल्लामा जिल्ला अधिवेशन तयारी गरेको छ । कांग्रेसले २१ हिमाली जिल्लामा १८ असोजमा जिल्ला अधिवेशन गर्ने भएको हो । यसका लागि केन्द्रीय निर्वाचन समितिले ती जिल्लाको नाम सार्वजनिक गरेको छ । निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवले २१ हिमाली जिल्लामा दसैंअघि नै जिल्ला अधिवेशन गर्ने तयारी भएको बताए ।

उच्च हिमाली क्षेत्रमा पर्ने जिल्लामा हिउँ पर्ने र चिसो बढ्ने सम्भावना रहेकाले दसैंअगाडि नै अधिवेशन गर्न लागिएको छ । ‘दसैंअघि नै २१ जिल्लामा जिल्ला अधिवेशन गर्ने तयारीमा छौं, हिउँ पर्ने र चिसो बढ्ने भएकाले ती जिल्लामा दसैंअघि नै अधिवेशन सम्पन्न गर्ने तयारी भएको हो, केही जिल्लामा एक दुई दिन यताउता पनि होला,’ निर्वाचन समिति संयोजक यादवले भने । गत ७ असोजमा बसेको कांग्रेस पदाधिकारी बैठकले हिमाली जिल्लामा दसैंअघि र पहाडी तथा तराईका जिल्लामा दसैंपछि जिल्ला अधिवेशन गर्ने निर्णय गरेको थियो ।

निर्वाचन समितिका अनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, रामेछाप, गोरखा, रुकुम पूर्व र म्याग्दी जिल्लामा १८ असोजभित्र जिल्ला अधिवेशनअघिका सबै प्रक्रिया पूरा गरेर जिल्ला अधिवेशन गरिने छ । रसुवामा भने वडा अधिवेशन नै भएको छैन ।

कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ भने वडा अधिवेशन सम्पन्न भएकामध्ये ६० जिल्लामा पालिकातहका अधिवेशन पनि सम्पन्न गरिसकेको छ ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्