साफ च्याम्पियनसिप आजबाट सुरु, माल्दिभ्स र नेपाल भिड्दै



काठमाडौँ,असोज १५ । दक्षिण एसियाली राष्ट्रको सर्वाधिक ठुलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको १३ औं संस्करण आज बाट माल्दिभ्समा सुरु हुँदैछ । मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने साफ च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेल आयोजक राष्ट्र माल्दिभ्ससँग खेलेर सुरु गर्ने छ । यी दुईबीचको खेल नेपाली समय अनुसार ९ः४५ मा हुनेछ ।

घरेलु टिमविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुवात गर्न चाहन्छ । नेपाली टिम पहिलो पटक साफको उपाधि उचाल्ने लक्ष्यसहित माल्दिभ्स गएको हो । नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पनि पटक पटक साफको उपाधि जित्ने लक्ष्य रहेको बताउँदै आएका छन् । साफ उनको लागि पनि वास्तविक परिक्षा हुनेछ ।

त्यस्तै, आज हुने अर्काे खेलमा श्रीलंका र बंगलादेश पनि भिड्दै छन् । यस पटक आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रहेको छ । लिगमा पाँचै टोलीले एक अर्काविरुद्ध खेल्नेछन् । र, लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि असोज ३० मा प्रतिस्पर्धा गर्ने छन् । यो साफमा पाकिस्तान र भूटानले भने सहभागिता जनाएको छैन । पाकिस्तानालाई फिफाले प्रतिबन्ध लगाएको छ भने भूटानले भने कोरोनाको कारण देखाउदै अन्तिम समयमा हात झिकेको थियो ।

प्रतिक्रिया दिनुहोस्