ओली दक्षिणपन्थी भएको भागवत विश्वासीको आरोप



प्युठान,असोज १५ । नेकपा एकीकृत समाजवादी पार्टीका स्थायी कमिटी सदस्य भागवत बिश्वासीले एमालेमा विभाजन नभई विद्रोह भएको बताउनुभएको छ ।

प्युठानको सरुमारानीमा आयोजित पालिकास्तरिय भेलालाई शुक्रवार सम्बोधन गर्दै उहाँले क्रान्तिकारी पार्टी निर्माण गर्न एमालेबाट क्रान्तिकारीहरु अलग भएको बताउनुभएको हो ।

पार्टिको लुम्बिनी प्रदेश इन्चार्ज समेत रहेका नेता विश्वासीले एमाले अध्यक्ष केपी शर्मा ओली दक्षिणपन्थी भएको आरोप लगाउनुभयो । नवौं महाधिवेशनबाट अध्यक्ष बनेपछि ओली स्वेच्छाचारी बन्दै गएर अन्ततः दक्षिणपन्थी बनेको उहांको भनाइ थियो। उहाँले पार्टीका सबै खालका मूल्य र मान्यतालाई तिलाञ्जली दिएर केपि ओली व्यक्तिवाद र अहंकारको घोडामा सवार भएपछि बाध्य भएर एमालेबाट विद्रोह गर्नुपरेको उल्लेख गर्नुभयो।

कम्युनिष्ट आन्दोलनलाई बदनाम बनाउँदै समाप्त पार्ने कोसिस ओलीबाट भएपछि बाध्य भएर एमालेबाट विद्रोह गरिएको बिश्वासीको भनाई छ । ‘केपी ओलीको गुटबन्दी र स्वेच्छाचारिताको विरूद्धमा हाम्रो विद्रोह हो। यो विद्रोह रहर नभएर बाध्यता हो,’उहांले भन्नुभएको छ।बिश्वासीले नेपालको सबै वाम शक्तिको नेतृत्व एकीकृत समाजवादीले गर्ने दाबी समेत गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै एकिकृत समाजवादी पार्टिका प्युठान जिल्ला सचिब दिपेन्द्र केसी, उपाध्यक्ष कृष्ण रायमाझि, अध्यक्ष भोज बिक्रम बुढा मगरलगायतले नवगठित नेकपा एकीकृत समाजबादी पार्टी अब जनताको आवश्यक्ताअनुसार हिँड्ने बताउदै नेता बिश्वासीले एमालेबाट विद्रोह गर्न नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्