एमालेलाई सिध्याउन खोज्ने शक्ति आफैँ समाप्त हुन्छन् : महेश बस्नेत



बुटवल,असोज २१ । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले एमालेलाई समाप्त पार्न खोज्ने शक्ति आफैँ समाप्त हुने दावी गरेका छन् । उनले एमाले कमजोर छ भनेर ठाने कांग्रेस र माओवादीका लागि महाभूल हुने बताए ।

राष्ट्रिय युवा संघ, नेपाल लुम्बिनी सांस्कृतिक नगरपालिका, रुपन्देहीको प्रथम युवा सम्मेलनलाई बिहीबार लुम्बिनीमा सम्बोधन गर्दै नेता बस्नेतले एमाले र केपी ओली मधेश विरोधी हुन् भनेर हल्ला फैलाइएको भए पनि त्यो गलत भएको पुष्टि हुँदै गएको बताए ।

‘हामीले सही ढंगले विषयवस्तु जनतालाई बुझाउन सकेनौं, तर ओली नेतृत्वको सरकारले मधेशमा विकासको लहर ल्याएको छ, मधेशमा विकास निर्माणका धेरै कार्यहरू भएका छन्,’ उनले भने । एमाले नेतृत्वको सरकारले मधेशको विकासका लागि विभिन्न कार्यक्रम ल्याएको उनले दावी गरे ।

एमाले नेतृत्वको सरकारले सुकुम्बासी, भूमिहीन तथा गरिबका लागि उच्चस्तरीय भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरी जग्गा दिन खोजेको उनको भनाइ छ ।

‘२०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारको पालामा ५८ हजार सुकुम्बासीले जग्गा पाएका थिए, केपी ओली नेतृत्वको सरकार नढलेको भए मुलुकमा २० लाख भूमिहीनले जग्गा पाउँथे,’ नेता बस्नेतले भने ।

रुपन्देहीको विकासका निम्ति विष्णु पौडेलले सशक्त रूपमा नेतृत्व गरेको उनले दावी गरे । लुम्बिनी क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिबाट खासै विकासका काम हुन नसकेको उनले बताए ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता बस्नेतले अहिले एमाले मुलुकको सबैभन्दा ठूलो शक्ति भएको दावी गरे । नेता बस्नेतले मन्त्री छनौटको विषयलाई लिएर कांग्रेस र माओवादीभित्र झगडा सुरु भइसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्