नुवाकोटमा यसरी भित्र्याइयो फूलपाती



• रिना खनाल

नुवाकोट,असोज २६ । जिल्लाको धार्मिक तथा ऐतिहासिक तुलजा भवानी मन्दिरमा बाजागाजाका साथ फुलपाती भित्राइएको छ । विदुर नगरपालिका २ मा रहेको मन्दिरमा सरकारी कर्मचारी, सर्वसाधारणको उपस्थितिमा नेपाली सेनाको सलामीका साथ बस्नेत, मगर र अर्याल समुदायले संकलन गरेको फुलपाती विशेष कार्यक्रमका साथ भित्र्याइएको हो ।

नुवाकोटको फुलपाती भित्राउने परम्परा मल्लकालदेखि नै सञ्चालन भएको मानिन्छ । सरकारी प्रतिनिधि सहितका सर्वसाधारण पहिले साततले दरबार राष्ट्रिय संग्रहालयमा भेला भएर वृहत फुलपाती जात्रासहित भित्राएका हुन् । प्रसिद्ध तुलजा भवानीमा फुलपाती भित्र्याउनु अघि फुलपाती ल्याउने स्थान र फुलपाती भित्र्याउने स्थानमा लिपपोत गरि चोखो बनाई विशेष पुजापाठ गरिएको थियो । वि.स. १८०१ साल असोज १५ गते तेश्रो प्रयासमा पृथ्वीनारायण शाहले नुवाकोट विजय प्राप्त गरेपछि झनै महत्व बढेर गएको सरकारका प्रतिनिधि द्वारे महेन्द्र शाहीले बताए । फुलपाती भित्र्याउने परम्परा गोरखा र हनुमानढोकामा जति महत्वपूर्ण रहेको छ, नुवाकोटको पनि उत्तिकै महत्व रहेको उनले बताए ।

सयौँको संख्यामा उपस्थित सर्वसाधारण साततले दरबार परिसरबाट र्यालीसहित निस्केर फुलपाती लिन अशोकबाटिका स्थित धोवीधाराको चौतारामा पुगेर संकलित फुलपाती लिएर तुलजा भवानीको प्राङ्गणमा बाजागाजा र तामझामका साथ भित्राइएको हो । सो अवसरमा तुलजा भवानीको मन्दिरमा सरकारीस्तरबाट एउटा बोका वलि दिइएको थियो । जंगलमा गएर बस्नेत, मगर र अर्याल समुदायले संकलन गरेको फुलपाती बाजागाजा र उच्च सुरक्षाका साथ भित्राइएको हो । वाजागाजासहित दुई किलोमिटर दुरीवाट लावा लस्करसहित पुगेर संकलन गरेर ल्याइएको फुलपाती भित्र्याइएको हो । फुलपाती भित्र्याउने कार्यमा नेपाली सेनाको टुकडीले मंगल सलामी दिनुका साथै प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद दुलाल, प्रहरी प्रमुख तुल बहादुर कार्की लगायत नेपाली सेना तथा विभिन्न कार्यालयका प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । फुलपाती भित्राएपछि सवैले प्रसाद स्वरुप भैरवी र तुलजा भवानीको टिका ग्रहण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्