२ महिनामै साढे ७ अर्बको पाम तेल निर्यात



काठमाडौं,असोज ३१ । भारतको प्रतिबन्ध फुकुवा भएपछि प्रशोधित पाम तेलको निर्यातमा उच्च वृद्धि देखिएको छ । चालू आर्थिक वर्षको पहिलो दुई महिना अर्थात् साउन र भदौमा मात्र भारततर्फ रू. ७ अर्ब ५० करोड ६१ लाख बराबरको प्रशोधित पाम तेल निर्यात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको भदौ मसान्तसम्मको वैदेशिक व्यापार सम्बन्धी तथ्याङ्कले यस्तो देखाएको हो । परिमाणका आधारमा समीक्षा अवधिमा ४ करोड ३ लाख ४६ लिटर पाम आयल भारततर्फ निकासी भएको विभागको तथ्याङ्कले देखाएको छ ।

भारत सरकारले गत असार (जुलाई १ तारिख) देखि प्रशोधित पाम आयलको आयात खुल्ला गरेको थियो । भारतको डाइरेक्टरेट जनरल अफ फरेन ट्रेडले पाम तेलको आयात खुला गरेको थियो । त्यसपछि नेपालका तेल उत्पादक उद्योगहरूले भारततर्फ पाम आयल निर्यात गर्न थालेका हुन् ।

गत साउनमा मात्र रू. २ अर्ब १५ करोड ५९ लाखको प्रशोधित पाम तेल निर्यात भएको थियो । भदौमा मात्र रू. ५ अर्ब ३५ करोडको यस्तो तेल निर्यात भएको देखिन्छ ।

भारतले २०७७ असारदेखि पाम आयलको आयातमा प्रतिबन्ध लगाएको थियो । त्यसको १ वर्षपछि भारतले प्रतिबन्ध फुकुवा गरेपछि नेपालबाट यसको निर्यात हुन थालेको हो ।

अघिल्लो आव २०७६/७७ मा प्रशोधित पाम आयल नेपालको पहिलो निर्यात योग्य वस्तु थियो । सो आवमा नेपालबाट १८ अर्ब ३१ करोड ७९ लाख रूपैयाँको पाम तेल भारततर्फ निकासी भएको थियो । तर, भारतीय सरकारले त्यसमा प्रतिवन्ध लगाएपछि गत आवमा पाम आयालको निर्यात शतप्रतिशत मात्रामा घटेको थियो । गत आवमा ५ लाख ४५ हजार रूपैयाँको पाम आयल निर्यात भएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्याङकले देखाएको छ ।

नेपाली व्यवसायीहरूले मलेसिया, इन्डोनेशिया लगायतका मुलुकबाट कच्चा पाम तेल ल्याएर प्रशोधन गरी भारततर्फ निकासी गर्ने गर्छन् । नेपालमा पनि पाम आयल खपत हुने गर्छ । कच्चा पाम आयल ल्याएर प्रशोधन गरी बिक्री गर्दा ३० प्रतिशतसम्म भ्यालु एड हुने व्यवसायीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्