कांग्रेसले मङ्सिरभर ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने



काठमाडौं,कात्तिक १३ । नेपाली कांग्रेसले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम नागरिकसम्म पुर्‍याउन आगामी मङ्सिर महिनाभर ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने भएको छ।

कांग्रेस केन्द्रीय कार्यालयमा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति गगनकुमार थापाले नागरिकका समस्या सम्बोधन गर्न र पार्टीलाई जिम्मेवार ढङ्गले अघि बढाउन अभियान सञ्चालन गर्ने प्रस्ताव गर्नुभएको हो।

सभापति थापाले कांग्रेसलाई देशका राजनीतिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक समस्या समाधान गर्न तयार पार्टीका रूपमा नागरिकमाझ प्रस्तुत गर्नुपर्ने बताउनुभयो। महाधिवेशनमा भएका समीक्षा र आत्मालोचनाको चरण पूरा भएकाले अब परिणाममुखी काममा केन्द्रित हुनुपर्ने उहाँको भनाइ थियो।

उहाँले महाधिवेशनबाट पारित नीतिगत तथा साङ्गठनिक प्रस्तावलाई दस्तावेजीकरण गरी केन्द्रीय कार्यालयमार्फत तल्लो तहसम्म पुर्‍याइने जानकारी दिनुभयो।

साथै, पारित प्रस्तावलाई पूर्णता दिन आवश्यक सुझाव, संशोधन तथा थप विषय केन्द्रीय कार्यालयमा उपलब्ध गराउन उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्