बाढी प्रभावित परिवारलाई भाडा आवासमा सहयोग गर्न रेडक्रसले थाल्यो अध्ययन
नुवाकोट,कात्तिक १३। नेपाल रेडक्रस सोसाइटीले बाढीका कारण विस्थापित नुवाकोटको विदुर नगरपालिकाभित्रका परिवारलाई भाडामा आवास उपलब्ध गराउन सहयोग गर्ने उद्देश्यले भाडा आवास बजारको अवस्था अध्ययन सुरु गरेको छ।
अध्ययनमार्फत भाडाका घरको उपलब्धता, भाडादर, आवासको अवस्था तथा आधारभूत सेवामा पहुँचबारे जानकारी सङ्कलन भइरहेको छ। साथै, बाढी प्रभावित परिवारको आवास आवश्यकताले भाडा बजारमा पारेको प्रभाव र भाडामा घर पाउन उनीहरूले भोग्नुपरेका चुनौतीसमेत पहिचान गरिँदैछ।
अध्ययनले घरधनी र भाडामा बस्ने परिवारबीचको सम्बन्ध, भाडा सम्झौताको अभ्यास तथा सम्भावित जोखिमको अवस्थासमेत विश्लेषण गर्नेछ।
अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा स्थानीय सरकार तथा मानवीय सहायता क्षेत्रमा कार्यरत निकायलाई प्रभावित परिवारका लागि भाडा सहायता कार्यक्रमको योजना बनाउन र कार्यान्वयन गर्न सहयोग पुग्ने रेडक्रसको अपेक्षा छ।
यस पहलले बाढीका कारण विस्थापित परिवारलाई सुरक्षित आवासको पहुँचमा पुर्याउन सहयोग गर्ने लक्ष्य राखेको छ।

