बझाङमा पहिरो : ७ घर पुरिए, २३ जना बेपत्ता



बझाङ,कात्तिक २ । बझाङको थलारा गाँउपालिका – ४ डिख्लामा गएराति पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । गाउँभन्दा माथिको ढोगदिना भन्ने ठाउँबाट पहिरो खस्दा दुई गाउँका स्थानीय विस्थापित भएका छन् भने भने सात घर पुरिएका छन् ।

बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका पाँच जना रहेका छन् । गगने सार्की रोजगारीका लागि भारतमा छन् । उनका माइला छोरा काले सार्की मात्र सकुसल छन् ।बेपत्ता हुनेमा गगने शार्कीको घरका हर्कु शार्की, धनगिरी शार्की, सिता शार्की, प्रवाश शार्की, भूमिका शार्की, चिरञ्जीवी शार्की, इस्सरा शार्की, संजीव शार्की, सविता शार्की, सरोज शार्की, शर्मिला शार्की, पम्मा शार्की, सुवाश शार्की, विकास शार्की, एक जना नाम नखुलेका रहेका छन् भने मदन शार्की(सरस्वती आवि पिपलगडाका शिक्षक) कलुदेवी शार्की र एलिसा शार्की गरेर १८ जना रहेका छन् । यस्तै नरे पार्कीका घरका उजली पार्की, आयुष पार्की, हिमा पार्की, सिमा पार्की गरेर ५ जना रहेका छन् ।

तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीय विस्थापित भई त्रिभुवन मा.वि महेन्द्रधारमा बसेका छन् । गाउँ पहिराको जोखिममा परेपछि सयभन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेको शान्ति मा।वि पाराकाट्नेका शिक्षक मदनबहादुर साउँदले बताए ।

सुदूरपश्चिमका पहाडी जिल्लामा सञ्चार सेवा अवरुद्ध हुँदा थप विवरणका लागि सम्पर्क हुन सकेको छैन । बाढीले सडक अवरुद्ध भएको र नेटवर्क नहुँदा समयमै खबर नपाएकोले उद्धारमा समस्या भइरहेको स्थानीयले बताएका छन् ।

उनीहरुले पहिरामा परेर बेपत्ता भएको भन्ने खबर आएको तर लगातारको बर्षाले बाटो अवरुद्ध भएकाले सो घटनास्थलसम्म जान नसकिएको बताएका छन् ।जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, बझाङले भने घटनाबारे पुष्टि गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्