‘सरकारलाई परमादेश र जनादेश प्राप्त छ’



काठमाडौं,कात्तिक ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारलाई सम्मानित सर्वोच्च अदालतको परमादेश र जनादेश दुवै प्राप्त भएको बताउनुुभएको छ । उहाँले सर्वोच्च अदालतले संविधानको व्याख्या गरेर प्रधानमन्त्री बनाउन परमादेश र प्रतिनिधि सभाको १६५ जना सांसदको विश्वास प्राप्त गरेर जनादेश पाएको स्पष्ट पार्नुभएको हो ।

वर्तमान संयुुक्त सरकारले सय दिन पूरा गरेको सन्दर्भमा गोरखापत्र दैनिकलाई मङ्गलबार दिनुुभएको विशेष अन्तर्वार्तामा प्रधानमन्त्रीले भन्नुभयो– “यो सरकारलाई परमादेश र जनादेश दुवै प्राप्त छ ।”
प्रधानमन्त्री देउवाले सङ्क्रमण अन्त्य भएर मुुलुक लिकमा फर्किएको र अब संविधान सुरक्षित भएको बताउनुभयो । उहाँले एमसीसी अमेरिकाले दिएको विकास अनुदान भएकाले यो नेपालको हितमा रहेको दाबी गर्दै भन्नुभयो– “अब यसमा विवाद गर्नु आवश्यक छैन । यसलाई छिटो पारित गर्नुपर्छ ।”

अब मुलुक राजनीतिक स्थिरतातर्फ उन्मुख भएको बताउँदै समयमै तीन तहको निर्वाचन गराउने प्रतिबद्धता प्रधानमन्त्री देउवाले व्यक्त गर्नुभयो । प्रधानमन्त्री देउवाले खुला अर्थतन्त्रलाई प्रोत्साहित गर्ने नीति लिएको बताउनुुभयो । यो सरकारले छिमेकी देश भारत र चीनसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको प्रस्ट्याउँदै भन्नुुभयो, “भारत र चीनसँग राम्रो सम्बन्ध राख्नु नेपालको हितमा रहेको छ ।” अहिले कमसेकम अन्योलको अवस्थाबाट ग्रस्त भएको देशलाई लिकमा ल्याएको उल्लेख गर्दै प्रधानमन्त्रीले आगामी चैतसम्म सबै नेपालीलाई खोप लगाइसक्ने सरकारको लक्ष्य रहेको छ भन्नुुभयो ।

कोरोनाविरुद्धको खोप उल्लेख्य मात्रामा आएको चर्चा गर्दै प्रधानमन्त्रीले भन्नुुभयो, “नेपाललाई भारत र चीनले खोप सहयोग गरेको छ, अन्य देशबाट प्राप्त भइरहेको छ, अमेरिकासँग पनि खोप उपलब्ध गराउने विषयमा त्यहाँका परराष्ट्रमन्त्रीसँग कुराकानी भएको छ । मलाई विश्वास छ, यो वर्षको अन्त्यसम्म सबै नेपालीलाई खोप दिन सफल हुने छौँ ।”

संयुक्त अधिराज्य बेलायतले नेपाललाई रेड जोनबाट हटाएको छ र अन्य देशले पनि सहयोग गरेका छन् भन्दै नेपाललाई सबै देशले सहयोग गरेको उहाँले स्पष्ट पार्नुभयो । विश्व स्वास्थ्य सङ्गठनले नेपालले कोरोना नियन्त्रणमा प्राप्त गरेको सफलतामा बधाई दिएको जानकारी दिनुुहुँदै उहाँले अहिले मानिसहरू आफ्नो पेसा र व्यवसायमा फर्केका छन्, यसलाई हामीले उपलब्धिका रूपमा लिनुुपर्छ भन्नुुभयो ।

अहिले मुलुकमा व्याप्त प्राकृतिक प्रकोपको चित्रण गर्दै प्रधानमन्त्रीले भन्नुुभयो, “हामीले बाढी, पहिरो र डुबानको समस्या भोग्नुपरेको छ । बाढी पहिरोबाट पीडितहरूलाई खाद्यान्नलगायतको सहयोग पनि उपलब्ध गराएका छौँ ।
अघिल्लो सरकारले गरेका निर्णयमा पुुनर्विचार हुन्छ कि भनिराखिएको जिज्ञासामा प्रधानमन्त्रीको भनाइ छ, “अघिल्लो सरकारका सबै नियुक्ति खारेज गर्नुपर्छ भन्नेचाहिँ होइन तर यसलाई विधिसम्मत गराउने र सच्चाउने प्रक्रिया यो सरकारले थालिसकेको छ । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्