बाढीपहिरामा परी मृत्यु हुनेको संख्या ४८ पुग्यो, ३१ जना बेपत्ता



काठमाडौँ, कात्तिक ३ । देशभर परेको अविरल वर्षाका कारण आएको बाढी,पहिरो र डुबानमा परेर बुधबार मध्याह्नसम्म ४८ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै बाढीपहिरोमा परेर विभिन्न जिल्लामा ३१ जना बेपत्ता भएका छन् । गृह मन्त्रालयका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी इलाममा ११ र डोटीमा नौजना रहेका छन् । पछिल्लो समयको तथ्यांक हेर्दा दुई जिल्लामा पहिराले बढी मानवीय क्षति गरेको हो ।

त्यसपछि पहिरामा परी हुम्ला, धनकुटा र पाँचथरमा छ/छ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । यस्तै बैतडीमा चार, कालीकोटमा एक, डडेलधुरामा एक, प्यूठानमा एक, सुनसरीमा दुई र उदयपुरमा एकजनाको मृत्यु भएको गृहप्रवक्ता फडिन्द्रमणि पोखरेलले बताए।

पहिरोमा परी सबैभन्दा ज्यादा बझाङ्ममा २३ जना बेपत्ता भएका छन् । यस्तै डोटीमा एक, प्यूठानमा दुई, इलाममा पाँचजना बेपत्ता छन् । विभिन्न जिल्लामा अहिलेसम्म २३ जना घाइते भएका छन् ।

यो क्रम आज पनि जारी छ । हराएकाहरुको खोजी कार्य र फसेकाहरुको उद्धार कार्य जारी रहेको गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्