नुवाकोटमा पनि खेतमै उम्रन थाल्यो धान, प्रदेश मन्त्री मैनाली भन्छन्- ‘क्षतिपूर्ति पाउनुहुन्छ’



नुवाकोट,कात्तिक ४ । नुवाकोटमा पनि गत शनिबार रातिदेखि परेको हावाहुरीसहितको वर्षाका कारण पाक्नै लागेको र काटिसकेको धानबालीमा ठूलो क्षति पुगेको छ। असारमा रोप्ने समयदेखि वर्षाको मार खेप्दै आएका यहाँका किसान फेरि धान भित्र्याउने बेलामा आएको हावाहुरीसहितको वर्षाले क्षति पुर्‍याएपछि चिन्तित बनेका छन् ।

रातको समयमा भीषण हावापानीले धान खेतीसँगै दलहन बाली र तरकारीमा समेत क्षति पुर्‍याएको किसानहरुले बताएका छन्। पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ का लक्ष्मण तिवारीले आफ्नो खेतको धान उम्रन थालेको बताए।हावाहुरीसहितको वर्षाले पञ्चकन्याका माथिल्लो तथा शिवपुरी, लिखुका तल्लो भूभागमा धान बटुल्नै नमिल्नेगरी ढलेको छ। ‘हावाका कारण धानबाली सखाप भएको छ। धानबाली खेतमा सोत्तर परेपछि बालासमेत झरेको छ। अब नपाक्दै त्यसलाई न टिप्नु, न त्यत्तिकै छोड्नु, हामीलाई वर्षभरी के खाने भन्ने चिन्ता बढेको छ,’ भद्रुटारका स्थानीय तिवारीले साझापथसंग गुनासो गरे।

उनका अनुसार कतिपय स्थानमा धानको बीउसमेत नरहने गरी हावाहुरीले धान झारिदिएको छ। किसानका अनुसार खेतमा धान कुनैकुनै ठाउँमा काट्न सुरु गरिएको थियो। पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ की धनमाया तामाङले खेतमा काटेर राखिएको धानको निनमा पानी वर्षिँदा धान सबै झारेको बताइन्। ‘धानको बीउ छरेभन्दा बाक्लो हुनेगरी खेतबारीमा धान झरेको छ, दशैको बेला काटिएको धान खेतमै उम्रीएको छ, वर्षभरी गरेको दुःख खेर गयो,’ उनले भनिन्।

आफ्नो खेतमा भने करिब ५० प्रतिशत धानबाली हुरीले ढालेको उनले बताइन्। जिल्लाका केहि स्थानीय तह बाहेक धेरै ठाउँमा धान खेतीमा लगातारको हावाहुरीले क्षति गरेको छ। जिल्लाको शिवपुरी, पञ्चकन्या, लिखु र ककनी गाउँपालिकामा पनि हावाहुरीसहितको वर्षाले भित्र्याउने बेला भएको धानबालीमामा पानीले असर गरेको छ।

यसैबीच नुवाकोटका नेता तथा वाग्मती प्रदेशका भूमि व्यवस्था,कृषि तथा सहकारी राज्य मन्त्री बद्री मैनालीले बेमौसमी वर्षातका कारण धानबालीमा पुगेको क्षतिको सबै किसानलाई राहत दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।बुधबार सामाजिक संजालमा एक स्टाटस लेख्दै मन्त्री मैनालीले वाग्मती प्रदेश सरकार भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयबाट, मातहतका कृषि ज्ञान केन्द्र मार्फत हाल वर्षातका कारण किसानहरूकाे धानबालीमा पुगेकाे क्षतिको विवरण नुवाकाेट जिल्ला लगायत वाग्मती प्रदेशका अन्य जिल्लाहरूमा समेत लगत संकलन भईरहेकाे हुदाँ वास्तविक वास्तविक क्षति भएका किसान दाजुभाई तथा दिदिबहिनीहरूलाई सम्बन्धित वडा वा जिल्ला स्थित कृषि ज्ञानकेन्द्रमा यथाशिघ्र सम्पर्क राखी तथ्यांक पेस गर्न समेत मन्त्री मैनालीले अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्