लोकन्थलीबाट स्रोत नखुलेको ८० लाखसहित अभियुक्त पक्राउ



काठमाडौं,कात्तिक ५ । प्रहरीले स्रोत नखुलेको ८० लाख रुपैयाँसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार गए राति मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीबाट स्रोत नखुलेको उक्त रकमसहित काठमाडौंं कोटेश्वर बस्ने बागलुङ गल्कोट नगरपालिका–१० का ३६ वर्षीय चित्रबहादुर पुन मगरलाई गएराति पक्राउ गरेको छ ।     
     
लोकन्थली मनहरा आँखा अस्पताल नजिक हुण्डीको कारोबार भइरहेको भन्ने खबरपछि महानगरीय प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले मगरलाई पक्राउ गरेको  हो ।

अभियुक्तको साथबाट बा ४९ प ८५६५ नंको स्कुटर र नगद  ३० लाख रुपैयाँसहित बरामद गरिएको र अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा थप ५० लाख रुपैयाँ बरामद गरिएको प्रहरी प्रधान कार्यालयले बताएको छ ।

अभियुक्तलाई आवश्यक कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग ललितपुर पठाइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्