भुटानमा हिमताल फुट्दा बाढी, गासाको प्रसिद्ध तातोपानी कुण्ड बगायो
भुटान,कात्तिक १३ । भुटानको गासा जिल्लामा बिहीबार राति शिन्ताफु हिमताल फुटेर हिमताल विस्फोटजन्य बाढी आउँदा ठूलो भौतिक क्षति भएको छ। बाढीको तीव्र बहावले गासाको प्रसिद्ध तातोपानी कुण्ड ‘गासा त्साचु’ पूर्ण रूपमा बगाएको छ।
बाढीका कारण पुनाखा–गासा राजमार्गको एक हिस्सा भत्किएको छ भने लाया जोड्ने सडकमा समेत क्षति पुगेको छ। हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन।
हिमताल फुटेपछि संकोश नदीमा पानीको सतह बढेको छ। उक्त नदी भारतको पश्चिम बंगाल र असम हुँदै बग्ने भएकाले दुवै राज्यका नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन चेतावनी जारी गरिएको छ।
पश्चिम बंगालको अलिपुरद्वारमा १० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थान तथा राहत शिविरमा सारिएको छ। प्रशासनले साइरन बजाएर स्थानीयलाई सचेत गराइरहेको छ। उद्धार तथा राहतका लागि राष्ट्रिय र राज्य विपद् प्रतिकार्य बलसहितका टोली परिचालन गरिएको छ।
प्राप्त जानकारीअनुसार बिहीबार राति करिब ८ः१५ बजे सिन्ताफु हिमतालबाट अचानक पानी बाहिरिन थालेको थियो। उक्त हिमताल भुटानका १७ अति संवेदनशील हिमतालमध्ये एक हो।
हिमतालबाट निस्किएको पानी मो छू नदी हुँदै संकोश नदीमा मिसिएर भारत प्रवेश गर्ने भएकाले पश्चिम बंगालका अलिपुरद्वार र जलपाइगुडी तथा असमको धुबरी क्षेत्रमा सतर्कता बढाइएको छ। प्रारम्भिक अनुमानअनुसार बाढीको पानी ६ देखि ८ घण्टाभित्र भारत–भुटान सीमासम्म पुग्न सक्ने आकलन गरिएको थियो।
यसैबीच, हिमतालबाट पानी बाहिरिनुको कारण, बगेको पानीको मात्रा र भौतिक क्षतिको विवरण संकलन तथा मूल्याङ्कन भइरहेको छ।

