शनिबार अपराह्नदेखि चक्रवात ‘अर्नब’को प्रभाव घट्दै जाने



काठमाडौं,कात्तिक १३ । नेपालमा चक्रवात ‘अर्नब’को प्रभाव र वर्षाको गतिविधि शनिबार अपराह्नदेखि क्रमशः कम हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार भारतमा शक्तिशाली चक्रवातका रूपमा विकसित भएको ‘अर्नब’ नेपाल प्रवेश गर्दा कमजोर न्यूनचापीय क्षेत्रमा परिणत भएकाले वर्षा, हिमपात र हावाहुरीको प्रभाव सामान्य रहेको छ।

शनिबार दिउँसो र राति पनि देशका अधिकांश स्थानमा बदली रहने तथा वर्षा र हिमपातको सम्भावना रहेको छ। पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ। केही स्थानमा भारी वर्षा र हिमपातको समेत सम्भावना छ।

महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा काभ्रेपलाञ्चोकको रोशी मौसम मापन केन्द्रमा सबैभन्दा बढी ५०.२ मिलिमिटर वर्षा मापन भएको छ। यस अवधिमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ।

प्रतिक्रिया दिनुहोस्