पाकेको धान वर्षाले नष्ट, किसान चिन्तित



काठमाडौं,कात्तिक ५ । बेमौसममा आएको बाढीले धान बगाएपछि किसान चिन्तित भएका छन्। बाढीले ६ महिनाको मेहनतको फल भित्र्याउने बेलामा खेतमै नष्ट भएपछि किसान निरास भएका हुन्। वर्ष दिनभरि खाने अन्न माटोमै मिसिएपछि परिवार कसरी पाल्ने भन्ने चिन्ताले किसानलाई सताएको छ।

शिवाईका दिलबन्धु चौधरीले भने, ‘वर्षभरी खाने धान खेतमै सड्यो, अब कसरी परिवार पाल्ने, अनिकाल लाग्ने भयो।’ बेमौसमी पानीले एक बिघामा लगाएको धान नष्ट भएपछि उनलाई अनिकालको चिन्ता लागेको हो।

किसान छेदिलाल चौधरी पाक्न लागेको धान सबै हावाहुरीले ढालिदिएपछि अब के खाने चिन्तित छन्। सुन्दरपुरकै महेन्द्र चौधरीले भने, ‘५ कठ्ठामा लगाएको धानबाली वर्षाले सबै नष्ट गरिदियो। उनले भने, ‘गरिबलाई जसो गरेपनि नहुने रैछ, कहिले फौजी किरा त कहिले वर्षाले उब्जनी नष्ट गरिदियो। अब के गरेर बाँच्ने होला।’

सोमबारदेखिको अविरल बर्षाका कारण उदयपुरमा ४५ प्रतिशत धान नष्ट भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। खेतमा काटेर सुकाउन राखेको धान भित्र्याउन नपाउँदै भिजेर र नकाटेको ढालेर नष्ट भएपछि किसान मारमा परेका हुन्।

रौतामाई गाउँपालिका ७ मुर्कुचीका हरिप्रसाद कोइरालाले १० कठ्ठामा लगाएको सबै धान नष्ट भएको बताए। बेलका नगरपालिका–१, २ र ३ क्षेत्रमा करिव एक सय बिगाहामा काटेर सुकाएको धानबाली नष्ट भएको कृषि ज्ञान केन्द्र उदयपुरका निमित्त प्रमुख महेश चौधरीले बताए।

काटेको धान बगायो
कर्णाली नदीमा आएको बाढीबाट बर्दियाको राजापुर तथा गेरुवा क्षेत्रमा धानबाली नष्ट गरेको छ। तटबन्ध भत्काएर गाउँ पसेको नदीले काटेर खेतमा राखेको धान बगाएको हो। राजापुर नगरपालिकाको १५ सय हेक्टर तथा गेरुवा गाउँपालिकाको १२ सय हेक्टरमा काटिएको धानबाली कर्णाली नदीको बाढीले बगाएको एकीकृत कृषि तथा पशुपंक्षी कार्यालय बर्दियाका प्रमुख विनोद घिमिरेले बताए। राजापुरमा अनुमानित ६ हजार मेट्रिक टन तथा गेरुवामा ४ हजार ८ सय मेट्रिक टन गरी करिब १० हजार ८ सय मेट्रिक टन धान बाढीले बगाएको अनुमान छ। तथ्यांक अनुसार कर्णाली नदीको बाढीले राजापुर नगरपालिकाको दौलतपुर, चनौरा, नंगापुर, चख्खापुर, तिघ्रालगायतका बस्तीहरूमा पसेर नोक्सानी गरेको छ। त्यस्तै गेरुवा गाउँपालिकाको सनकट्टी, बनकट्टी, राजीपुरलगायतका क्षेत्र प्रभावित भएको जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले बताए। राजापुर नगरपालिका– १ मा ७ सय ४८, वडा नम्वर–३ मा १ सय २० र वडा नम्वर–७ मा १ सय ५९ गरी १ हजार २७ घरपरिवार प्रभावित भएका छन्।

८ हजार हेक्टरको धान नष्ट
दाङको गढवा गाउँपालिका ५ खजरौटाका रामप्रकाश यादवको करिब ५१ कठ्ठामा लगाइएको धानबाली बेमौसमी वर्षाले पूर्ण क्षति पुर्‍यायो। वर्षभरी खाने खेती पानीले बगाएपछि उनी पीडामा छन्। दाङमा करिब ८ हजार हेक्टरमा लगाएको धानखेती काम नलाग्ने अवस्थामा पुगेको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकृत रुद्रमणि पौडेलले जानकारी दिए। दंगीशरण गाउँपालिका, राप्ती गाउँपालिका लगायतका ठाउँमा बाढीले खेतसमेत कटान गरेको पौडेलले जानकारी दिए। क्षतिको विवरण आइसकेपछि किसानलाई सकेसम्म बिउजन्य वस्तु राहतको रुपमा दिने उनले बताए।

लुम्बिनीमा ३६ हजार हेक्टरको धान क्षति
लुम्बिनी प्रदेशमा ३६ हजार हेक्टरमा काटेर राखेको धानमा क्षति पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार प्रदेशका १२ जिल्लाको ३६ हजार ४ सय ८० हेक्टरको धानमा क्षति भएको हो।  प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै बर्दियामा १० हजार हेक्टरको धानमा क्षति पुगेको प्रदेश कृषि विकास निर्देशनालयकी बाली विकास अधिकृत सुनैना बराइलीले बताइन्। कपिलवस्तुमा काटेर खेतमै राखिएको ८ हजार ८ हेक्टरको धानमा क्षति पुगेको छ। दाङमा करिब ८ हजार हेक्टरको धान खेतीमा क्षति पुगेको छ।

बाँकेमा ७ हजार ५ सय हेक्टरको धानमा वर्षाले क्षति पुर्‍याएको छ। काटेर खेतमै रहेको रुपन्देहीमा ३ हजार ४ सय ६८ हेक्टरको धान तथा प्यूठानमा ३ हजार ७ हेक्टर जमिनको धानमा क्षति पुगेको छ। नवलपरासी पश्चिममा काटेर खेतमै रहेको ४ सय १० हेक्टरको धानमा वर्षाले क्षति गरेको छ। रुकुम पूर्वमा काटेर राखेको ४ सय १२ हेक्टर, गुल्मीमा ८ हेक्टर, पाल्पामा २ सय ७० हेक्टर जमिनको धानमा वर्षात्ले क्षति पुर्‍याएको छ। रोल्पामा २५ हेक्टर खेतको धान बालीमा वर्षाले क्षति पुगेको छ।

यो समाचार अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्