एमाले १०औँ महाधिवेशन: पोखराका जगन्नाथ बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा



चितवन,मंसिर ९ । पोखराका जगन्नाथ बास्तोलाले नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । नेकपा एमालेको चितवनमा हुने १०औँ महाधिवेशनमा बास्तोलाले गण्डकी प्रदेशको भूगोलबाट खुल्ला केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन । बास्तोलाले बिहीबार सौराहामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी सो घोषणा गरेका हुन ।

माछापुच्छ्रे गाउँ पालिकाको निबर्तमान गाउँ कमिटी अध्यक्ष एंब नेकपा एमाले कास्कीका जिल्ला सचिवालय सदस्य समेत रहेका बास्तोला विगत २५ वर्षदेखि जिल्ला कमिटीमा रही काम गर्दै आएका छन् । वि.सं. २०२३ सालमा कास्कीको ल्वाङघलेल – १ मा जन्मेका बास्तोलाले २०३७ सालदेखि स्कुले जीवन र कलेजको विद्यार्थीकालमा अनेरास्ववियुको विभिन्न जिम्मेवारीमा रही काम गर्दै आएका थिए । बास्तोलाले विभिन्न निर्वाचनहरूमा नेकपा एमाले पार्टी र एमालेका उम्मेदवारहरूलाई विजयी गराउन महत्वपूर्ण जिम्मेवारीमा रही काम समेत गरेका थिए। निर्वाचनका क्रममा माछापुच्छ्रे गाउँपालिकाको संयोजक रही आफ्नो जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेका थिए ।

वि.सं. २०५४ सालमा तत्कालिन ल्वाङघलेल गाविसको पार्टी उपाध्यक्ष समेत रहेका बास्तोलाले २०४८ र २०५१ सालको निर्वाचनमा पनि पार्टीका उम्मेदवारहरूलाई जिताउन खटेका थिए । सो निर्वाचनमा नेपाली कांग्रेसका कार्यकर्ताहरूसँगको झडपमा उनि घाइते समेत भएका थिए । देशमा राजाको कु पछि २०५८–५९ मा उनलाई नेपाली सेनाले पोखराको पृथ्वी चोकबाट पक्राउ गरी यातना समेत दिइएको थियो । सख्त घाइते हुनुभएका बास्तोलाको तत्कालिन समयमा पोखराकै मेट्रोसिटी अस्पतालमा लामो समयको उपचारपछि घर फर्केका थिए ।उनलाई तत्कालिन समयमा नेकपा एमालेका नेता केपी ओलीले भेट गर्न अस्पताल तथा घरमा समेत पुगेका थिए ।

विद्यार्थी जीवनदेखि पार्टीको विभिन्न जिम्मेवारीमा रही काम गरेको बताउँदै बास्तोलाले आफूलाई गण्डकी प्रदेशको भूगोलबाट खुल्ला केन्द्रीय सदस्यमा विजयी गराउन उनले सबैसँग आग्रह समेत गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस्