एमाले ‘हाइटेक’ महाधिवेशन आजबाट



चितवन, मंसिर १० । नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनको भव्य तयारी सकिएको छ । आजबाट चितवनको नारायणगढमा महाधिवेशन सुरु हुँदै छ । नारायणगढ बजारसँग जोडिएको नारायणी नदी किनारमा आज उद्घाटन सत्र हुनेछ भने पर्यटकीय नगर सौरहामा बन्दसत्र हुनेछ ।

एमालेले महाधिवेशनलाई ‘हाइटेक’ प्रविधिमार्फत थप भव्य बनाइएको जनाएको छ । महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले मध्याह्न १२ बजे गर्ने कार्यक्रम तय गरिएको एमालेका सचिव एवं प्रचारविभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

१० देखि १२ मंसिर गरी तीन दिनसम्म हुने सो महाधिवेशनमा देशभरबाट नेता कार्यकर्ता जम्मा हुने क्रम जारी छ । सो महाधिवेशनमा सहभागी हुन र अवलोकन गर्न देशभरबाट झन्डै ५ लाख नेता÷कार्यकर्ता शुक्रबारसम्म चितवन आइपुग्ने नेकपा एमालेले जानकारी दिएको छ । महाधिवेशनका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसहित अधिकांश नेताहरू बिहीबार नै चितवन आइपुगेका छन् ।

बन्दसत्रमा २ हजार १ सय ७५ प्रतिनिधि सहभागी हुँदै छन् । कार्यक्रमको उद्घाटन हुने नारायणी नदी किनारमा मञ्चसहितका सबै संरचना तयार भएका छन् । ५० ठाउँमा स्वागत गेट र २५ ठाउँमा ‘सेल्फी प्वाइन्ट’ बनाइएको छ । चितवनका प्रत्येक घरमा निमन्त्रणापत्र पठाइएको एमालेले जनाएको छ । नारायणी नदीको नरायणढगढतर्फको किनारामा मात्रै सहभागी नअट्ने भएकाले नवलपरासीको गैंडाकोटतर्फको किनारामा पनि बस्ने व्यवस्था मिलाइएको छ ।

महाधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचनको कार्यतालिकासमेत सार्वजनिक गरिएको छ । एमालेले महाधिवेशनमा प्यानल बनाए कारबाही गर्ने बताउँदै पर्चापम्प्लेटमा भने बन्देज लगाएको छ । मतदानका लागि १ सयवटा विद्युतीय मतदान मेसिन प्रयोग गरिने भएको छ । सुरक्षाका लागि प्रशासनले १५ सय सुरक्षाकर्मी परिचालन गर्दै छ । नारायणगढ बजार क्षेत्रमा मालवाहक सवारीसाधन आवतजावतमा रोक लगाइए पनि आत्यावश्यक सवारीसाधन चल्न पाउने व्यवस्था गरिएको छ ।

नारायणगढ बजार क्षेत्रमा एमालेको चुनाव चिह्न सूर्य र कम्युनिस्ट पार्टीको हसिया हथांैडा अंकित झन्डा र ब्यानर सजाएर बजारलाई झकिझकाउ र सुन्दर बनाइएको छ । अत्यावश्यक गाडी नरोकिने महाधिवेशन उद्घाटन क्रममा चितवनमा यात्रुलाई सहज हुने गरी ट्राफिक व्यवस्थापन मिलाइएको स्थानीय प्रशासनले जनाएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गतको बुटवल–नारायणगढ सडक खण्डमा मालवाहक गाडी सञ्चालनमा रोक लगाइनेछ । नारायणगढ र भरतपुरका मुख्य सहरी क्षेत्रमा अत्यावश्यक गाडी नरोकिने र अरू गाडीका लागि वैकल्पिक बाटोको व्यवस्थापन मिलाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

पूर्वपश्चिम राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्डबाट ओहोरदोहोर गर्ने बसलाई वैकल्पिक बाटोको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । पूर्वबाट चितवन हुँदै गुड्ने गाडीलाई बाइपास रोड खुला हुनेछ । पूर्वबाट काठमाडांै ओहोरदोहोर गर्ने गाडी भरतपुरको जिल्ला प्रशासन कार्यालय चोक, बाइपास– आँपटारी हुँदै चल्न पाउनेछन् ।

पूर्वबाट पश्चिम चल्ने गाडीलाई प्रशासन कार्यालय चोकबाट दक्षिण बाटो हुँदै नारायणी पुलसम्मको वैकल्पिक बाटो तय गरिएको छ । पश्चिमबाट छुट्ने गाडी नवलपरासीतिर नारायणी पुलको नजिकबाट शिवघाट जाने बाटो हुँदै पूर्वतर्फ र काठमाडांै चल्न मिल्ने चितवन प्रशासनले जनाएको छ । त्यसैगरी, पूर्वबाट पश्चिम चल्ने गाडी आँपटारी–बाइपास हुँदै जिल्ला प्रशासन कार्यालय चोकबाट घुमेर नारायणी पुलतर्फ जानुपर्नेछ ।

पूर्व–पश्चिम चल्ने यात्रुवाहक गाडी नारायणीको पुल हुँदै चल्न पाउने तर नारायणघाटको मुख्य बजारमा प्रवेश गर्न नपाउने प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिए । उनका अनुसार नारायणीको पुलमा अरू भीडभाड गर्न रोकिनेछ । त्यस्तै, बाह्रघरे, बेलचोक, त्रिचोक, केन्द्रीय बस ट्रमिनल, बाइपास सडक र आँपटारी क्षेत्रभित्र अत्यावश्यक बाहेकका गाडी प्रवेशमा रोक लगाइएको छ । शुक्रबार बिहान १० बजेदेखि बेलुकासम्म ती क्षेत्रमा गाडी छिर्न पाउनेछैनन् ।

तर, अत्यावश्यक एम्बुलेन्स, दमकल, विवाह, व्रतबन्ध, मृत्युसंस्कारलगायतका गाडी चल्नेछन् । यात्रा गर्नेलाई सकेसम्म सहज हुनेगरी व्यवस्थापन मिलाएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए । १५ सय सुरक्षाकर्मी परिचालन महाधिवेशनको सुरक्षामा १५ सयभन्दा बढी सुरक्षाकर्मी खटाइने भएको छ । एक एआईजी र दुई डीआईजीको कमान्डमा महाधिवेशनको सुरक्षाको व्यवस्था मिलाइएको छ । एआईजी सहकुल थापा, डीआईजी प्रकाशजङ कार्की र दिवेश लोहनीको कमान्डमा महाधिवेशनको सुरक्षाका लागि सुरक्षाकर्मीहरू परिचालित गरिएको छ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्