नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दै



काठमाडौं, मंसिर १० । आइसीसी वुमन्स टी–ट्‍वान्टी विश्वकप एशिया क्षेत्र छनौटमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । शुक्रबारको खेलमा पनि नेपालले रनरेटलाई माथिल्लो स्तरमा कायम राख्‍न मलेसियामाथि गतिलो जीत निकाल्न आवश्यक छ । नेपालले छनौट चरणको अन्तिम खेल भने बलियो टिम युएईसँग आइतबार प्रतिस्पर्धा गर्नेछ।

विहिबार सम्पन्न खेलमा नेपाल कुवेतसंग ९ विकेटले विजयी भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको कुवेतले सबै विकेट गुमाएर २७ रन बनाएको थियो ।

नेपालले भने १ विकेट गुमाएर ९९ बल बाँकी रहँदै सो लक्ष्य हासिल गरेको थियो । नेपालका तर्फबाट संगीता राईले ३ विकेट, रुबिना क्षेत्री र करुणा भण्डारीले २–२ विकेट र सरस्वती कुमारीले १ विकेट लिएकी थिइन् ।

ब्याटिङ तर्फ इन्दु बर्माले १३ र रुबिना क्षेत्रीले १२ रन बनाएकी थिइन् । यो जितसंगै नेपाल ३ मध्ये २ खेलमा जीत निकाल्दै चार अंकसहित हङकङसँग बराबरीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्