मूल्यवृद्धि सीमामा राख्न चुनौती : गभर्नर



अहिले वित्तीय क्षेत्रमा देखिएको मुख्य चुनौती मूल्यवृद्धि सीमाभित्र नियन्त्रण गरेर राख्नु, तरलता व्यवस्थापन र आयात नियन्त्रण गर्नु हो ।

हालको आर्थिक सूचकहरूलाई सुधार्न नसके साढे ६ प्रतिशतको सीमाभित्र मूल्यवृद्धि राख्न निकै चुनौतीपूर्ण हुनेछ । यो वर्षको बाढीका कारण धानबालीलगायतमा पारेको असर मूल्यवृद्धिमा देखिनेवाला छ । त्यसको व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले आप्mना सबै मौद्रिक उपकरण परिचालन गरिरहेको छ ।

अर्थतन्त्रलाई पर्नसक्ने सम्भावित असरलाई ध्यान दिँदै आयातमा थप कडाइ गर्ने योजना पनि बनाइरहेका छौं । यो भनेको विलासिताका वस्तु आयातमा थप कडाइ गर्ने नै हो । कोभिड महामारीका बेलामा धेरै नै बढेको आयात सामान्य अवस्थामा झन् डरलाग्दो हुनसक्ने तर्फ अहिले हामीले ध्यान दिन जरुरी छ ।
 
चालू आर्थिक वर्षको शुरूतिर विदेशी मुद्रा सञ्चिति १३ खर्ब ९९ अर्ब रुपैयाँ रहेकोमा अहिले १३ खर्ब १९ अर्ब रुपैयाँमा खुम्चिएको छ । विदेशी लगानी र विप्रेषण घट्दै गरेको अवस्थामा आयातमा हुने भुक्तानी ह्वात्तै बढ्नु अर्काे चुनौतीपूर्ण रहेको छ ।

तरलता अभावको समस्या अहिले पनि छ । चालू आर्थिक वर्षमा हालसम्म ४ खर्ब ११ अर्ब रुपैयाँ कर्जा गइसकेको छ, तर निक्षेप ६४ अर्ब रुपैयाँ मात्रै थपिएको छ र यहाँ साढे ३ खर्ब रुपैयाँको अन्तर देखिएबाटै तरलता अभाव हुन गएको हो । बिस्तार भएको कर्जाको ५० प्रतिशत अर्थात २ सय ५ अर्ब रुपैयाँ आयातका लागि रकम खर्चिनुपरेको छ । विप्रषेणको वृद्धि खासै हुन सकेको छैन औसतमा ८० अर्ब भित्रिरहेको छ । उच्च आयात हुँदा विप्रषेणले त्यसलाई थेग्न सकेको छैन ।तरलतामा चाप पर्ने भएर आन्तरिक ऋण पनि उठाइएको छैन, विप्रषेणलाई आकर्षित गर्न भने एक प्रतिशत बिन्दु बढी ब्याज दिने योजना ल्याएको छ । यसले विप्रषेण बढाउनेमा सघाउ पुग्ने अपेक्षा छ । यस्तै, गैरआवासीय नेपालीको निक्षेप आकर्षित गर्न पनि नयाँ योजना ल्याएको छ ।

राम्रोसँग बुझेर मात्रै शेयरबजारमा लगानी गर्न जरुरी छ । कोरोना महामारीको समयमा अन्यत्र लगानी नहुँदा शेयरबजारमा लगानी ओइरिएको हो । त्यसरी लगानीमात्रै आएर पनी हुँदैन ।

शेयरबजारमा बुझेर मात्रै लगानी गर्नुपर्छ र यसका लागि पब्लिक सचेतना बढाउनुपर्ने देखिएको छ । खासगरी शेयरमा लगानी गर्नेले वित्तीय विवरण हेरेर मात्रै लगानी गर्न म सबैमा आग्रह गर्छु ।

(अर्थ समितिमा गभर्नर महाप्रसाद अधिकारीले राखेको विचारको सम्पादित अंश)

प्रतिक्रिया दिनुहोस्