मधेस प्रदेश सरकारका चार मन्त्रीले दिए सामूहिक राजीनामा
मधेस,कात्तिक २१ । मधेस प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टीबाट सहभागी चार जना मन्त्रीले शुक्रबार सामूहिक राजीनामा दिएका छन् ।
राजीनामा दिनेमा अर्थमन्त्री युवराज भट्टराई, उद्योग तथा पर्यटनमन्त्री कनिष पटेल, गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो र ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री जवाहरलाल कुशवाहा रहेका छन् ।
चारै जना मन्त्रीले मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई ह्वाट्सएपमार्फत राजीनामा पत्र पठाएको अर्थमन्त्री भट्टराईले जानकारी दिनुभयो । उहाँहरूका अनुसार राजीनामा शुक्रबारदेखि नै लागू हुने गरी दिइएको हो ।
राजनीतिक निकासका लागि सामूहिक राजीनामा दिएको र प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखलाई समेत बुझाइसकेको मन्त्री भट्टराईले बताउनुभयो ।
यसअघि गत असोज ३० गते नेकपा (एमाले) बाट मधेस प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । दुवै दलका मन्त्रीहरूले राजीनामा दिएपछि मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने देखिएको छ ।

