चन्दादाताको सम्मानसँगै जनज्ञान निकेतनमा तिहार विशेष कार्यक्रम सम्पन्न



नुवाकोट,कात्तिक २० । शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान निकेतन माध्यमिक विद्यालयमा विद्यालयको बस खरिद तथा भौतिक संरचना निर्माणमा सहयोग गर्ने चन्दादाताहरूलाई सम्मान गर्दै तिहार विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

शुक्रबार आयोजित कार्यक्रममा विद्यार्थीहरूले देउसीभैलो गीत, नृत्यलगायत विविध सांस्कृतिक प्रस्तुति दिएका थिए। कार्यक्रममा शुभकामना आदानप्रदानसमेत गरिएको थियो।

विद्यालय बस खरिद समितिका संयोजक हरिप्रसाद सिटौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलिया प्रमुख अतिथि रहनुभएको थियो। उपाध्यक्ष वीरबहादुर तामाङ र वडा नम्बर ८ का वडाध्यक्ष केशवप्रसाद रिजाल विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। प्रधानाध्यापक अर्जुनप्रसाद लामिछानेले विद्यालयको बस खरिद तथा भौतिक निर्माणका लागि प्राप्त सहयोगको आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो।

करिब साढे दुई वर्षअघि न्यून विद्यार्थी संख्या र भौतिक पूर्वाधारको अभाव सामना गरिरहेको विद्यालयले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद सिटौलाको नेतृत्वमा उल्लेखनीय प्रगति गरेको अभिभावकहरू बताउँछन्। उहाँको पहलमा विद्यालयको भौतिक संरचना सुधार, विद्यार्थी संख्या वृद्धि, शैक्षिक वातावरण निर्माण तथा आफ्नै बस खरिद गर्न सफलता मिलेको छ।

विद्यालयको विकासमा शिक्षक, अभिभावक, पूर्वविद्यार्थी तथा चन्दादाताहरूको सामूहिक सहयोग महत्वपूर्ण रहेको छ। दाताहरूको सम्मानमा आयोजित कार्यक्रमले विद्यालयप्रतिको अपनत्व, सामाजिक एकता र सहकार्यको सन्देश दिएको छ।

प्रतिक्रिया दिनुहोस्