आज काग तिहार, यमराजका दूत कागको पूजा गरिँदै
काठमाडौं,कात्तिक २१। नेपालीहरूको दोस्रो ठूलो चाड तिहारअन्तर्गत कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार आज शनिबार मनाइँदैछ। यमराजको दूतका रूपमा मानिने कागलाई मीठा खानेकुरा दिएर पूजा आराधना गर्ने परम्परा रहेको छ।
सूर्योदयकालमा त्रयोदशी तिथि परेकाले शास्त्रसम्मत रूपमा आज काग तिहार मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष डा. पुरुषोत्तम भट्टराईले जानकारी दिनुभयो।
धार्मिक मान्यताअनुसार कागले यमराजसमक्ष पृथ्वीको खबर पुर्याउने भएकाले यसलाई यमदूतका रूपमा पूजा गर्ने गरिन्छ। कागलाई मीठा खानेकुरा दिएर खुसी पार्दा शुभ समाचार प्राप्त हुने विश्वास छ। लोक व्यवहारमा काग घरआँगनमा आएर कराएमा ‘शुभ बोल, शुभ बोल’ भन्ने प्रचलनसमेत रहेको छ।
काग तिहारका अवसरमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिर तथा हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा विशेष पूजा आराधना गरिन्छ।
यस वर्ष तिथिको घटबढका कारण यमपञ्चक शुक्रबार बेलुकीदेखि नै सुरु भएको हो। शुक्रबार धनतेरस पर्व मनाइएको थियो भने यमदीपदान पनि सुरु भएको छ। यमदीपदान गर्दा दक्षिण दिशातर्फ दीप प्रज्वलन गर्ने वैदिक परम्परा रहेको छ।
तिहारमा दुष्कर्म गर्नेलाई यमराजले दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराजले रक्षा गर्ने धार्मिक विश्वास रहिआएको छ।

