विपी राजमार्ग पुनःनिर्माण तीव्र, बर्खेखोला–पिप्ले खण्डमा जाइकाले काम थाल्यो
काभ्रेपलाञ्चोक, कात्तिक २१। प्राकृतिक विपद्बाट क्षतिग्रस्त विपी राजमार्गको पुनःनिर्माण कार्य तीव्र बनेको छ। सिन्धुलीको बर्खेखोला–पिप्ले सडकखण्डमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनःनिर्माण सुरु गरेको छ भने काभ्रेपलाञ्चोकतर्फका अन्य तीन खण्डमा समेत काम भइरहेको छ।
डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार बर्खेखोला–पिप्ले खण्ड पुनःनिर्माणका लागि जाइकासँग दुई अर्ब ६० करोड रुपैयाँमा सम्झौता भएको छ। पिप्लेदेखि भकुण्डेबेँशीसम्मको सडक पुनःनिर्माणमा हालसम्म ५२ प्रतिशत भौतिक प्रगति भएको कार्यालयले जनाएको छ।
काभ्रेपलाञ्चोकतर्फ पिप्ले–डालाबेँशी, डालाबेँशी–चारसयबेँशी र चारसयबेँशी–भकुण्डेबेँशी गरी तीन खण्डमा पुनःनिर्माण भइरहेको छ। यी खण्डको निर्माण क्रमशः २०८४ कात्तिक २६, जेठ मसान्त र असार १७ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आगामी वर्षायामअघि निर्माणाधीन सडकमा एक तह कालोपत्रे गर्ने तयारीसमेत गरिएको छ।
डिभिजन सडक कार्यालयका प्रमुख सुमन योगेशका अनुसार बाढीबाट क्षतिग्रस्त विपी राजमार्गलाई समर्पित दोहोरो लेनमा पुनःनिर्माण गरिँदै छ। पाँचवटा पुललाई दुई लेनमा विस्तार गर्ने तथा तीन खण्डमा ६ दशमलव ३ किलोमिटर आरसीसी पर्खाल निर्माण गर्ने योजना छ।
हाल पुनःनिर्मित सडकबाटै सवारी आवागमन भइरहेको छ। चौकीडाँडा, पिन्थली र डालाबेँशी–पिप्ले खण्डका साँघुरा तथा जोखिमयुक्त स्थानमा डाइभर्सन बनाएर दुईतर्फी यातायात सञ्चालन गरिएको छ। वर्षाका कारण लेदो वा पहिरोले सडक अवरुद्ध भएमा आधादेखि केही घण्टाभित्र खुलाउने गरी आवश्यक सामग्री व्यवस्थापन गरिएको कार्यालयले जनाएको छ।
२०८१ असोज दोस्रो साता रोशी खोलामा आएको बाढीले काभ्रेपलाञ्चोकको दाप्चाखोला पुलदेखि सिन्धुलीको नेपालथोकसम्म करिब २९ किलोमिटर विपी राजमार्ग पूर्ण रूपमा क्षति पुर्याएको थियो। क्षतिग्रस्त सडक पुनःनिर्माणका लागि सरकारले आठ अर्ब ५० करोड रुपैयाँ स्रोत सहमति दिएको छ। त्यसमध्ये काभ्रेपलाञ्चोकतर्फ सात अर्ब ५० करोड र सिन्धुलीतर्फ एक अर्ब रुपैयाँ छुट्याइएको छ।
काठमाडौँलाई पूर्वी तथा मध्यपहाडी क्षेत्रसँग जोड्ने छोटो मार्गका रूपमा रहेको विपी राजमार्ग जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको हो। धुलिखेल–सिन्धुली–बर्दिबास १६० किलोमिटर लामो राजमार्ग २०७२ असार १८ गते जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो।

