देउवा काँग्रेस केन्द्रीय कार्यसमितिमा बहुमत हुने संकेत



काठमाडौं, पुस ३ । शेरबहादुर देउवा काँग्रेस केन्द्रीय कार्यसमितिमा बहुमत हुने संकेत देखिएको छ। नेपाली काँग्रेसको कार्यसमितिमा सभापति देउवा विगतमा भन्दा पनि बलियो हुने संकेत देखिएको हो । पदाधिकारीमा उनीनिकटस्थहरु बहुमत संख्यामा चुनिएका छन् । सभापति, १ उपसभापति र ६ महामन्त्री गरी १३ पदाधिकारीमध्ये देउवा पक्षधर ८ जना छन् । प्रदेश २ को खुल्लातर्फ २ र महिलातर्फ १ केन्द्रीय सदस्य देउवा पक्षका चयन भइसकेका छन् ।

खुल्लातर्फको जारी केन्द्रीय कमिटीको ३५ सदस्यमध्ये बहुमत देउवा पक्षको चयन हुने सम्भावना बलियो देखिएको छ । मतगणनामा ३५ मध्ये कम्तिमा २० जना देउवा पक्षका चयन हुने सम्भावना बलियो भएको हो । देउवा पक्षका बालकृष्ण खाँड, ज्ञानेन्द्रबहादुर कार्की, उदय शमशेर राणा, गोपालमान श्रेष्ठ, एनपी साउद,मोहनबहादुर बस्नेत, गोविन्द भट्टराई, सुनिलबहादुर थापा, रामहरि खतिवडालगायत जीतको सम्भावना बलियो बनाएका छन् । उनीहरु मतमा अगाडि छन् ।

काँग्रेसमा मनोनित केन्द्रीय सदस्यमा पनि देउवाको भूमिका महत्वपूर्ण हुने भएकाले उनी कार्यसमितिमा निकै बलियो हुने अवस्था बनेको हो ।

प्रतिक्रिया दिनुहोस्