बाढीपीडितको पीडामाथि चोरीको त्रास, बेत्रावतीवासी थप असुरक्षित
नुवाकोट,मंसिर १ । भोटेकोशी, त्रिशूली र फलाखु खोलामा आएको बाढीले घरजग्गा तथा सम्पत्ति गुमाएका बेत्रावतीका नागरिक अहिले चोरीको त्रासमा परेका छन्।
बाढीले बगाएर ल्याएका सवारीसाधनका विभिन्न पार्टपुर्जा, घरमा रहेका तामाका तारलगायतका सामग्री निकाल्ने तथा चोरी गर्ने गतिविधि भइरहेको स्थानीयले बताएका छन्।
स्थानीयका अनुसार हिजो दिउँसो त्रिशूली र फलाखु खोलाको आसपासमा अपरिचित व्यक्तिहरू देखिएका थिए। साँझ घरका पिल्लरसमेत काटिएको अवस्थामा भेटिएपछि बाढी प्रभावित परिवार थप त्रसित बनेका छन्।
बाढीका कारण घरबारविहीन भएका नागरिक अहिले टेन्ट तथा अस्थायी टहरामा बस्दै आएका छन्। यस्तो अवस्थामा बालबालिका, ज्येष्ठ नागरिक र प्रभावित परिवारको सुरक्षालाई लिएर स्थानीयले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
विपद्का कारण घरजग्गा र सम्पत्ति गुमाएका नागरिकलाई बाँकी रहेको सामग्रीसमेत सुरक्षित राख्न कठिन हुन थालेपछि स्थानीयले सम्बन्धित निकायसँग तत्काल सुरक्षा व्यवस्था मिलाउन माग गरेका छन्।

