भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति, ५६ मेगावाट निर्यात पनि गरिने



काठमाडौं,मंसिर १ । नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदयामको विद्युत् माग र आपूर्ति व्यवस्थापनका लागि भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति पाएको छ ।

भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिस्पर्धी दरमा दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न अनुमति दिएको हो । दुई पक्षबीचको सहमतिअनुसार नेपालले आजदेखि आगामी साउन १५ गतेसम्म विद्युत् आयात गर्न पाउनेछ ।

अनुमतिअनुसार बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्मबाहेक अन्य समयमा विद्युत् आयात गर्न सकिनेछ । कटैया–कुशाहा, रामनगर–सुरजपुरा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनबाट ३०० मेगावाट तथा न्यू नौतनिया–मैनहिया प्रसारण लाइनबाट ५० मेगावाट विद्युत् आयात गरिनेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले भारतबाट विद्युत् आयातको अनुमति प्राप्त भएकाले आगामी हिउँदमा माग र आपूर्तिको व्यवस्थापन गर्न सहज हुने बताउनुभयो ।

भोटेकोशी बाढीका कारण जलविद्युत् आयोजना तथा प्रसारण लाइनमा क्षति पुग्दा ४३१ मेगावाट जडित क्षमताका आयोजना राष्ट्रिय विद्युत् प्रणालीबाट विच्छेद भएका छन् । यसले आगामी हिउँदयाममा विद्युत् आपूर्ति व्यवस्थापन थप चुनौतीपूर्ण बनाएको छ ।

प्राधिकरणको अनुमानअनुसार यस वर्ष पुसदेखि चैतसम्म चार महिना आन्तरिक उत्पादनभन्दा विद्युत् माग बढी हुनेछ । विशेषगरी माघ र फागुनमा दैनिक औसत ४५० देखि ५०० मेगावाटसम्म विद्युत् आयात गर्नुपर्नेछ । उच्च माग हुने समयमा भने दैनिक ८०० देखि ९०० मेगावाटसम्म विद्युत् आयात गर्नुपर्ने अनुमान गरिएको छ ।

पुस र चैतमा तुलनात्मक रूपमा कम विद्युत् आयात गरे पुग्ने प्राधिकरणको आकलन छ । आगामी वैशाखदेखि नदीमा पानीको बहाव बढेसँगै आन्तरिक उत्पादन वृद्धि हुने र विद्युत् आयात क्रमशः घटाएर निर्यात सुरु गर्न सकिने अपेक्षा गरिएको छ ।

५६ मेगावाट विद्युत् निर्यात गर्न पनि अनुमति

यसैबीच, प्राधिकरणले तीनवटा जलविद्युत् आयोजनाबाट उत्पादित कुल ५६ मेगावाट विद्युत् भारतीय ऊर्जा विनिमय बजारमा बिक्री गर्न पनि अनुमति पाएको छ । आजदेखि आगामी साउन १५ गतेसम्म उक्त विद्युत् निर्यात गर्न सकिनेछ । यससँगै नेपालले हिउँदमा भारतबाट विद्युत् आयात गर्ने र उत्पादन बढी हुने समयमा निर्यात गर्ने व्यवस्था मिलाएको छ ।

प्रतिक्रिया दिनुहोस्