सिन्धुली गोलन्जोरमा माइक्रोबस दुर्घटना: १४ जना घाइते, चारको अवस्था गम्भीर



सिन्धुली,मंसिर १ । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ पलासेस्थित बीपी राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। जनकपुरबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल अधेरी खोलाको बगरमा खसेको हो।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार मंगलबार दिउँसो करिब २ बजे मधेस प्रदेश ०४–००१ ज ०२४३ नम्बरको माइक्रोबस दुर्घटनामा परेको हो। दुर्घटनाका बेला चालकसहित १४ जना सवार थिए।

दुर्घटनालगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले सबै घाइतेको उद्धार गरी प्रारम्भिक उपचारका लागि खुर्कोटस्थित शुभजीवन अस्पताल पुर्‍याएको थियो।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइते पियुष गोइत, आयुष गोइत, सीतादेवी यादव र नाम नखुलेका अर्का एक जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ।

प्रहरीका अनुसार घाइतेमध्ये नौ जनाको पहिचान खुलेको छ। पहिचान खुल्नेमा माइक्रोबस चालक धनुषाको शहीदनगर नगरपालिका–८ निवासी दीपककुमार दास, शहीदनगर–७ की १७ वर्षीया रानीकुमारी मण्डल, शहीदनगर–२ का १४ वर्षीय पियुष गोहित, १५ वर्षीय आयुष गोहित र १२ वर्षीया रुबी गोहित रहेका छन्।

त्यस्तै, ललितपुरको भैँसेपाटी निवासी ३६ वर्षीया प्रियांका साह तथा उनका छोरीहरू १६ वर्षीया जेनी साह, ११ वर्षीया सफलता साह र तीन वर्षीया ओमी साह पनि घाइते भएका छन्।

प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठका अनुसार दुर्घटनामा घाइते भएका अन्य पाँच जनाको नाम, ठेगाना र परिचय खुल्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस्