लुम्बिनी लगातार दोस्रो पटक एनपिएलको फाइनलमा
काठमाडौं,मंसिर १ । लुम्बिनी लायन्स लगातार दोस्रो पटक नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी फाइनलमा पुगेको हो।
सुदूरपश्चिमले दिएको १०६ रनको सामान्य लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। लुम्बिनीको जितमा निरोशन डिकवेल्लाले सर्वाधिक ५९ रन बनाए। उनले ३७ बलमा ७ चौका र २ छक्का प्रहार गरे। जारी प्रतियोगितामा लुम्बिनीका खेलाडीले बनाएको यो पहिलो अर्धशतक हो।
कप्तान रोहित पौडेलले २१ र आशिफ शेखले ४ रन बनाए। डार्सी सर्ट खाता नखोल्दै आउट भए। सुदूरपश्चिमका थरिन्दु रत्नायकेले २ तथा स्कट कुग्लेजिन र हेमन्त धामीले समान १ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०५ रन बनाएको थियो। उसका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५२ रन बनाए। उनले ५१ बलमा ३ चौका र १ छक्का प्रहार गरे। इशान पाण्डेले २७ रनको योगदान दिए।
सुदूरपश्चिमले ३.१ ओभरमा ८ रन जोड्दा तीन विकेट गुमाइसकेको थियो। चौथो विकेटका लागि दीपेन्द्र र इशानले ६४ रनको साझेदारी गर्दै टोलीलाई सम्हाले पनि अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
लुम्बिनीका रुवेन ट्रम्पलमेनले २ तथा शेर मल्लले २ विकेट लिए। अविशेष गौतम र किशोर महतोले समान १ विकेट हात पारे।
पराजित सुदूरपश्चिमसँग भने फाइनल पुग्ने अर्को अवसर बाँकी छ। उसले अब दोस्रो क्वालिफायरमा एलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। बुधबार हुने एलिमिनेटरमा काठमाडौं गोर्खाज र चितवन राइनोज भिड्नेछन्।
यसअघि प्रतियोगिताको उद्घाटन खेलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले पराजित गरेको थियो। यससँगै लुम्बिनीले जारी सिजन सुदूरपश्चिममाथि लगातार दोस्रो जित निकालेको छ।

