निगम निजीकरणको निर्णय खारेज



काठमाडौं,पुस ७ । सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने निर्णय खारेज भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निगमलाई निजीकरण गर्ने विषयमा यसअघि भएको निर्णय खारेज गरिएको बताए ।

मंगलवार निगम कार्यालयमा व्यवस्थापन र कर्मचारीहरूसँग छलफल गर्दै उनले यसअघि भएका निर्णय आपूmले खारेज गरेको बताएका हुन् । उनका अनुसार केही दिनअघि मन्त्रीस्तरीय निर्णयबाट निजीकरणको विषय नै खारेज भएको हो ।

यसअघिको सरकारले नेपाल एयरलाइन्सलाई निजीकरण गर्ने तयारी गरेपछि निगममा कार्यरत कर्मचारीहरू आन्दोलित भएका थिए । कर्मचारीहरूले निजीकरणको निर्णय गर्ने तत्कालीन महाप्रबन्धक डिमप्रकाश पौडेलले कार्यालय प्रवेशमा रोक लगाउँदै आन्दोलन गरेका थिए ।

सरकारले विभिन्न समयमा निगम सुधारका लागि गठन गरेका विभिन्न आयोगले निजीकरण गर्न सुझाव दिएका थिए । तर, सरकारले कम्पनी मोडलमा जाने भनी गरेको निर्णय खारेज गरेको छ ।

यसैबीच नेपाल वायु सेवा निगमले नयाँ जहाज खरीद गर्ने निर्णय गरेको बताएको छ । नयाँ जहाज खरीद गर्न निगमले सरकारसँग १५ अर्ब रुपैयाँ माग गरेको वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले बताएका छन् । कर्मचारीले निगम निजीकरणको व्यापक विरोध गरेपछि नवनियुक्त पर्यटनमन्त्री आलेले कार्यकारी अध्यक्षको रूपमा युवराज अधिकारीलाई नियुक्त गरेका थिए । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्