पाकिस्तान ‘ए’ विरुद्ध मैदान उत्रिँदै नेपाल, लगातार दोस्रो जितको खोजीमा
काठमाडौं,मंसिर ८ । कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले आज पाकिस्तान ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ।
नेपाल र पाकिस्तान ‘ए’ बीचको खेल नेपाली समयअनुसार अपराह्न ३ः४५ बजे दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको क्रिकेट मैदानमा सुरु हुनेछ।
प्रतियोगितामा नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ। पहिलो खेलमा भारतसँग ३०६ रनको फराकिलो हार बेहोरेको नेपालले दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गर्दै युएईलाई ६ विकेटले पराजित गरेको थियो। आज पनि पाकिस्तानलाई हराउँदै नेपाल जितको लय कायम राख्न चाहन्छ।
यता पाकिस्तान ‘ए’ भने एक खेलअगावै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ। उसले पहिलो खेलमा युएई र दोस्रो खेलमा भारत ‘ए’ लाई पराजित गरेको थियो। पाकिस्तान आज लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ।
नेपाल र पाकिस्तान ‘ए’ बीच यसअघि सन् २०२३ को इमर्जिङ कपमा एकपटक प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा नेपाल ४ विकेटले पराजित भएको थियो। पहिले ब्याटिङ गरेको नेपाल ३७ ओभरमा १७९ रनमा समेटिएको थियो। पाकिस्तानले १८० रनको लक्ष्य ३२ दशमलव ५ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो।
तीन वर्षअघिको हारको बदला लिने अवसर पनि नेपाललाई आज हुनेछ। जारी प्रतियोगिताको समूह ‘बी’ मा नेपाल २ अङ्कसहित तेस्रो स्थानमा छ भने पाकिस्तान ‘ए’ ४ अङ्कसहित शीर्ष स्थानमा रहेको छ।

