नुवाकोटे टाइगर सहित एक दर्जन रेस्लर आज काठमाडौंमा भिड्दै



काठमाडौं,पुस १७ । चर्चित रेस्लर नुवाकोटे टाइगरसहित एक दर्जन खेलाडी आज शनिबार काठमाडौंमा भिड्दै छन् । बुढानिलकण्ठमा नेपाल रिङ रेस्लिङ संघको आयोजनामा प्रथम आरडब्लु विन्टर स्लाम राष्ट्रिय रेस्लिङ हुन लागेको हो ।

गत बुधबार प्रतियोगिता सम्बन्धि पत्रकार सम्मेलन गर्दै खेलकुद संघकी महासचिव सुवर्ण श्रेष्ठले सो खेल बूढानीलकण्ठको चुनीखेल मैदानमा हुने जानकारी दिइन् । प्रतियोगितामा विभिन्न ५ स्पर्धामा प्रतिस्पर्धा हुने छ । पाँचै विधामा नगद पुरस्कार राखिएको छ । हेभी वेट च्याम्पियनले ८० हजार, हार्डकोर च्याम्पियनले ६० हजार, मिडल वेट च्याम्पियनले ५० हजार, ट्याग टिम च्याम्पियनले ४५ हजार तथा लाइट वेट विजेताले २५ हजार नगद पुरस्कार पाउने छन् ।

प्रतियोगितामा नुवाकोटे टाइगर, चट्टान, डेभिड, टुप्पी ग्याङ, एक्स हिरो, लेडी एन्जल, तन्नु, सिजे, एससी, किङ रोबोर्ट, जोन, बाका, युबिएललगायतका खेलाडीको सहभागिता रहने बताइएको छ । प्रतियोगितामा बूढानीलकण्ठ नगरपालिका वडा १३ को विशेष सहयोग रहने आयोजकले जनाएको छ । वडा १३ का अध्यक्ष श्रीकृष्ण श्रेष्ठले स्थानिय पर्यटनको प्रवर्द्धनमा प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

महासचिव श्रेष्ठले कोभिडको महामारीले थलिएको पर्यटनलाई माथि उकास्न प्रतियोगिताले मद्दत पुग्ने धारणा व्यक्त गरिन् । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख रुपैयाँ खर्च हुने छ ।

प्रतिक्रिया दिनुहोस्