पुलिस र च्यासलको खेल शनिबार



काठमाडौं,माघ १७ । पुलिस र च्यासलको खेल शनिबार हुने भएको छ । शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत च्यासलका १९ जना खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएपछि रोकिएको च्यासल र नेपाल पुलिस क्लबबीचको नवौँ राउन्डको खेल शनिबार हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पुलिस र च्यासलको खेल शनिबार खेलाउने जानकारी दिएको हो ।

यसअघि माघ २ गतेका लागि तय भएको उक्त खेल स्थगित भएको थियो । एन्फाले लिगको १०औँ राउन्डदेखिको नयाँ मिति भने सार्वजनिक गरेको छैन । लिगमा आठ खेल खेलेको पुलिस अहिले सात अंक सहित ११औँ स्थानमा छ । समान खेलबाट पाँच अंक बनाएको च्यासल १३औँ स्थानमा छ । च्यासलले रेलिगेसन रेखा जोगाउन सकेको छैन । 

लिगको शीर्षस्थानमा रहेको मच्छिन्द्रको २३, दोस्रो स्थानमा रहेको मनाङ मस्र्याङ्दी क्लबको १९ र तेस्रो स्थानमा रहेको आर्मीको १७ अंक छ । च्यासलपछि अन्तिममा फ्रेन्ड्स क्लब छ । नौ खेलमा एउटै खेल जित्न नसकेको फ्रेन्ड्सको तीन अंक छ । सातौँ राउन्डसम्मको शीर्षटोलीले एएफसी कप छनोट खेल खेल्न पाउने एन्फाले राखेको प्रावधान अनुसार मच्छिन्द्र एएफसी कपका लागि छनोट भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्