विश्वकप छनोट : फिलिपिन्समाथी नेपालको जीत



काठमाडौं,फागुन ७ । ओमनमा जारी टी–२० विश्वकप छनोट ग्लोवल क्वालिफायरमा नेपालले लगातार दोस्रो जित निकालेको छ । आफ्नो दोस्रो खेलमा फिलिपिन्सलाई १३६ रनले पराजित गर्दै दोस्रो जित हात पारेको हो । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा २१९ रनको विशाल लक्ष्य पछ्याएको फिलिपिन्सलाई ८२ रनमा नै रोक्न नेपाल सफल भयो ।

फिलिपिन्सलाई सस्तैमा समेट्न कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए । उनले ४ ओभरमा ९ रनमात्र खर्चिए । गुल्सन झा, जितेन्द्र मुखिया, अविनाश बोहोरा, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए ।

फिलिपिन्सका ड्यानिएल स्मिथले २० र जोर्डन एलेग्राले २७ रन बनाए । आफ्नो समूहमा दुई खेल खेलेको नेपाल चार अंकसहित शीर्षस्थानमा रहेको छ । समान खेल खेलेको फिलिपिन्स जितविहीन हुँदै पुछारमा रहेको छ ।

टस हारेर ब्याटिङ गरेको नेपालका ओपनर कुसल भुर्तेले शतकीय योगदानमा २१८ रनको विशाल योगफल खडा गरेको थियो । कुशलले ६१ बलमा १३ चौका र १ छक्कासहित अविजित १०४ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ८३ रनको योगदान गरे । कुशल र दीपेन्द्रले दोस्रो तेस्रो विकेटका लागि १७१ रनको साझेदारी गरेका थिए ।

टी–२० अन्तर्राष्ट्रियमा भुर्तेलको यो पहिलो शतह हो । योसँग शतक प्रहार गर्ने उनी तेस्रो नेपाली बनेका छन् । यसअघि पारश खड्का र ज्ञानेन्द्र मल्लले टी–२० मा शतक प्रहार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्