शिवपुरीको शान, खेलाडीहरुको पहिचान : शिवपुरी रंगशाला



नुवाकोट, फागुन १३ । ‘शिवपुरीको शान, खेलाडीहरुको पहिचान, शिवपुरी रंगशाला’ नारा सहित शिवपुरी वडा कप फूटबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ ।

शिवपुरी गाउँपालिका वडा नम्बर ७ स्थित रंगशालामा भएको वडा कप फुटबल प्रतियोगिताको उद्घाटन समारोहका प्रमुख अतिथि गाउँ पालिकाका अध्यक्ष रामकृष्ण थापाले रंगशालामा आगामी दिनमा फुटबल जस्तै भलिबल, कराते, तेक्वान्दो जस्ता खेल प्रतियोगिताका रुपमा संचालन गरिनुपर्ने बताए ।

खेलाडीहरुको उत्पादन गर्ने थलोको रुपमा विकास गर्न आफ्नो कार्यकालमा रंगशाला निर्माण गरिएको बताउदै अध्यक्ष थापाले खेलकुद मात्र नभई अन्य प्रतियोगिता र कार्यक्रम गर्न समेत रंगशालामा सहज हुने बताए ।

आफ्नो विगत सम्झिदै अध्यक्ष थापाले खेलकुद्को निरन्तरताको लागि खेलकुदजन्य सामग्री तथा योजनामा हरबखत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

शुक्रवारदेखि सुरु भइ १७ गते समापन हुने प्रतियोगितामा प्रथम हुनेले एक लाख, द्धितीय हुनेले ५० हजार र तृतीय हुनेले २५ हजार नगद र ट्रफी प्राप्त गर्नेछन् । साथै हरेक खेलका म्यान अफ द म्याच र प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट डिफेन्डर, सर्वोत्कृष्ट मिड फिल्डर, सर्वोत्कृष्ट गोलकिपर, सर्वोत्कृष्ट फरवार्डलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ ।

शिवपुरी गाउँपालिकाका ७ वटा वडाले भाग लिएको पहिलो दिनको खेलमा वडा नंं २ र वडा नंं ५ ले विजयी सुरुवात गरेका छन् । शिवपुरी रंगशाला सुनखानीमा भएको नाइन ए साइड फुटबलको पहिलो खेलमा वडा नं ४ लाई वडा नंं २ ले २–० ले पराजित गरेको छ । वडा नंं २ का लागि खेलको ३५ औं मिनेटमा अनमोल तामाङ र ५९ औं मिनेटमा मिङ्मार तामाङले गोल गरेका थिए । समूह ए मा रहेको वडा नं. २ ले यो जीतसँगै वडा नंं २ ले ३ अंक जोडेको छ ।

त्यस्तै अर्को खेलमा वडा नंं ५ ले वडा नंं ३ लाई २–१ ले पराजित गर्न सफल भयो । वडा नं. ५ का लागि खेलको ४६ औं मिनेटमा रोशन थापा र ६१ औं मिनेटमा शैलेन्द्र खड्काले गोल गरे । वडा नंं ३ का लागि एक गोलको खेलको ७० औं मिनेटमा रमेश तामाङले गरे । जीतसँगै समूह बी मा रहेको वडा नंं ५ ले पनि ३ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्