आईपीओ निष्कासनको तयारीमा विद्युत् प्राधिकरण
काठमाडौं,फागुन १७ । पूर्ण सरकारी स्वामित्वमा रहेको नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणलाई शेयर निष्कासनको तयारी गरेको छ । सरकारले प्राधिकरणको दोस्रो वित्तीय पुनःसंरचना गर्ने योजनाअन्तर्गत शेयर निष्कासनका लागि सहमति दिइसकेकाले त्यसअनुसार सर्वसाधारणलाई शेयर निष्कासनको तयारी गरिएको हो ।
प्राधिकरण विद्युत् व्यापार, उत्पादन, वितरण तथा प्रसारण गर्दै आएको सरकारी कम्पनी हो । अब त्यसमा जनताको पनि स्वामित्व हुने छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शेयर जारी गर्ने विषयमा छलफल अगाडि बढाइएको बताए । अर्थ र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्वीकृति दिएपछि शेयर निष्कासन गरिने उनको भनाइ छ ।
‘सर्वसाधारणलाई शेयर निष्कासन गर्ने सम्बन्धमा छलफल अगाडि बढेको छ,’ आर्थिक अभियानसँग उनले भने, ‘आवश्यक प्रक्रिया पूरा भएपछि शेयर निष्कासन गर्नेछौं ।’ सरकारको स्वीकृतिमा नेपाल विद्युत् प्राधिकरण ऐनमा भएको व्यवस्थाबमोजिम सर्वसाधारणलाई शेयर जारी गरिने उनको भनाइ छ ।
‘विगतमा प्राधिकरण वार्षिक घाटा र सञ्चित नोक्सानीमा थियो, अब सबै वित्तीय सूचकांकहरूमा उल्लेख्य सुधार आइसकेको छ,’ उनले भने, ‘क्रेडिट रेटिङबाट पनि प्राधिकरणमा लगानी सबै हिसाबबाट सुरक्षित रहेको विश्लेषण गरिएको छ । अब ऐनमा भएको व्यवस्थाअनुसार शेयर निष्कासन गर्न सरकारसँग सहमति लिएर प्रक्रिया अगाडि बढाउँछौं ।’
यस्तै, प्राधिकरणले ऋण लिने सम्बन्धमा गरेको रेटिङमा इक्रा नेपालले ‘डबल ए प्लस’ क्रेडिट रेटिङ दिएको छ । डबल ए प्लस रेटिङ पाउने संस्थासँगको वित्तीय कारोबारमा ज्यादै न्यून ऋण भुक्तानी जोखिम हुन्छ ।
इक्रा नेपालले प्राधिकरणको वित्तीय अवस्था, सम्पत्ति, व्यावसायिक तथा वित्तीय जोखिमहरूको विश्लेषण, व्यवस्थापकीय क्षमता, सञ्चालन प्रभावकारितामा प्रभाव पार्ने आन्तरिक तथा बाह्य वातावरणीय तत्त्वलगायतको विश्लेषण गरेको थियो । सोही विश्लेषणका आधारमा प्राधिकरणको क्रेडिट रेटिङ
गरिएको हो ।
‘प्राधिकरणले अहिले विश्व बैंक, एशियाली विकास बैंकजस्ता बहुपक्षीय विकास साझेदार निकायहरूबाट सरकारी जमानीमा ऋण लिँदै आएको छ,’ उनले भने, ‘क्रेटिड रेटिङले प्राधिकरणसँगको कारोबार सबै हिसाबले सुरक्षित रहेको देखाएकाले अब त्यस्ता निकायसँग प्राधिकरणले आफ्नो संस्थागत जमानीमा सीधै ऋण खोज्न र लिन सक्छ ।’
सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत नयाँ आयोजना कार्यान्वयन गर्दा प्राधिकरणले कर्पाेरेट जमानीमा स्रोत परिचालन गर्ने क्षमता विकास गरिने घोषणा गरिएको थियो ।
सोही अनुसार प्राधिकरणको क्रेडिट रेटिङ गरिएको हो । इक्रा नेपालले प्राधिकरण सरकारको पूर्ण स्वामित्वमा रहेको, विद्युत् प्रसारण, वितरण र मुलुकभित्र तथा बाहिरी मुलुकसँग विद्युत् खरीद विक्रीको एकाधिकार प्राप्त तथा सरकारको रणनीतिक संस्था भएको, सहायक कम्पनीसहित करीब १ हजार १०० मेगावाटको विद्युत् उत्पादन क्षमता भएको, सरकारले हरेक वर्ष बजेटमार्फत ऋण र शेयरमा लगानी गर्ने गरेको उल्लेख गरेको छ ।

