प्रशासनले ग्यास सहज भएको दाबी गर्दा भक्तपुरका उपभोक्ता सिलिन्डर खोज्दै भौँतारिँदै
भक्तपुर,कात्तिक १९ । जिल्ला प्रशासन कार्यालयले खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज भएको दाबी गरे पनि भक्तपुरका उपभोक्ताले अझै सहज रूपमा ग्यास पाउन सकेका छैनन् । महिनौँदेखि ग्यासको प्रतीक्षामा रहेका उपभोक्ता एउटा भरिएको सिलिन्डरका लागि पसल र डिलर धाउन बाध्य छन् ।
भक्तपुरकी स्थानीयवासी सविना बोहजुले तीन महिनादेखि घरमा ग्यास पाउन नसकेको गुनासो गर्नुभयो । यसअघि आधा मात्रै भरिएको सिलिन्डर पाउनुभएकी उहाँले त्यसयता अर्को सिलिन्डर पाउन नसकेको बताउनुभयो ।
“अहिले पनि ग्यास खोज्दै भौँतारिरहेकी छु । ग्यास डिलरदेखि खुद्रा बिक्रेतासम्म धाउँदा पनि पाइँदैन । फोन गर्दा ग्यास नै आएको छैन भन्नुहुन्छ,” उहाँले भन्नुभयो, “बजारमा ग्यास सहज भयो भन्छन्, तर हामीजस्ता उपभोक्ताले कहाँबाट पाउने ?”
आफूसँग भएको सिलिन्डरको ग्यास सकिन लागेपछि अर्को सिलिन्डरको व्यवस्था गर्न खोज्दा पनि समस्या भएको उहाँको भनाइ छ । केही थप शुल्क तिरेर अर्को कम्पनीको सिलिन्डरसँग साटेर ग्यास लिन सकिन्छ कि भनेर बिक्रेतालाई अनुरोध गर्दा सहयोग नपाएको उहाँले गुनासो गर्नुभयो ।
सविनाको जस्तै समस्या अर्का उपभोक्ता सुनील दुवालले पनि भोग्नुपरेको छ । ग्यासका लागि पसलमा नाम टिपाएको लामो समय बितिसक्दा पनि सिलिन्डर पाउन नसकेको उहाँले बताउनुभयो ।
“ग्यास पसलका साहुजीलाई जहिले सोधे पनि ग्यास आएपछि खबर गर्छु भन्नुहुन्छ । महिनौँ बितिसक्यो, तर अहिलेसम्म पाएको छैन,” उहाँले भन्नुभयो, “हामीले पैसा तिरेर किन्ने हो, सित्तैमा दिनुस् भनेका होइनौँ । पैसा तिर्दा पनि एउटा सिलिन्डर नपाउनु कस्तो अवस्था हो ?”
सरकारी निकाय र सामाजिक सञ्जालमा ग्यासको आपूर्ति सहज भएको सूचना सार्वजनिक भइरहे पनि वास्तविक उपभोक्ताले भने ग्यास पाउन नसकेको उहाँको भनाइ छ । बजारमा ग्यास आइरहेको भनिए पनि कहाँ वितरण भइरहेको छ र उपभोक्तासम्म किन पुग्न सकेको छैन भन्ने प्रश्न उहाँले उठाउनुभएको छ ।
दैनिक खाना पकाउन ग्यासमा निर्भर परिवारका लागि यसको अभावले घरायसी कामकाज प्रभावित भएको छ । ग्यास नपाउँदा समयमै खाना पकाउन नसकिने र वैकल्पिक इन्धनको व्यवस्था गर्नुपर्ने बाध्यता रहेको उपभोक्ताको भनाइ छ । विशेषगरी लामो समयदेखि एउटै सिलिन्डर प्रयोग गर्दै आएका परिवारलाई ग्यास सकिएपछि तत्काल अर्को व्यवस्था गर्न कठिन भएको छ ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले भने जिल्लामा ग्यासको आपूर्ति सहज भइसकेको दाबी गर्नुभएको छ । कुनै एउटा कम्पनीको ग्यास नपाएको अवस्थामा उपभोक्ताले अर्को कम्पनीको डिलरबाट सिलिन्डर साटेर पनि ग्यास लिन सक्ने उहाँले बताउनुभयो ।
दसैँअघि जिल्ला प्रशासन कार्यालयले सामाजिक सञ्जालमार्फत कुन कम्पनीको ग्यास कहाँ र कहिले वितरण हुँदैछ भन्ने सूचना सार्वजनिक गर्दै आएको उहाँले जानकारी दिनुभयो । दसैँपछि ग्यासको आपूर्ति सहज भएको ठानेर त्यस्ता सूचना सार्वजनिक गर्न छाडिएको उहाँको भनाइ छ ।
प्रशासनले आपूर्ति सहज भएको दाबी गरिरहँदा उपभोक्ताले भने ग्यास पाउन नसकेको गुनासो गरिरहेका छन् । प्रशासनको दाबी र बजारको वास्तविक अवस्थाबीच तालमेल नहुँदा उपभोक्तामा अन्योल देखिएको छ ।
आपूर्ति सहज भएको हो भने महिनौँदेखि ग्यासको प्रतीक्षामा रहेका उपभोक्ताले किन पाउन सकेका छैनन् भन्ने प्रश्न उठेको छ । ग्यासको उपलब्धता, वितरणस्थल र वितरण समयबारे स्पष्ट सूचना उपभोक्तासम्म नपुग्दा समस्या थप जटिल बनेको देखिन्छ ।

